एमालेका कार्यकर्ता हिंसात्मक गतिविधिमा लागेको आरोप

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताहरूले कांग्रेस नेता एवं कार्यकर्तामाथि सुनियोजित आक्रमण गरेको आरोप लगाएको छ। बिहीबार राति बाजुरा र शुक्रबार बिहान धादिङको धुवाकोटमा भएको घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको कांग्रेसले दाबी गरेको छ।

बाजुराको बुढीगंगा नगरपालिकाका एमालेका कार्यकर्ताहरूकोे धारिलो हतियार प्रहारबाट नेपाली कांग्रेसका स्थानीय ६ जना कार्यकर्ता घाइते भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ। यो घटनामा घाइतेभएका कांग्रेस कार्यकर्ता डम्बर थापा, रमेश नेपाली र किसन नेपाली अझै सम्पर्कविहीन अवस्थामा रहेको उहाँको भनाइ थियो।

एमालेका कार्यकर्ताहरूले घाइते कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगदसमेत लुटेको बताइएको छ। थापालाई राजेशबहादुर सिंहको घरबाट आउँदै गरेको बेला धुरालसैन माविको तलतिर एकान्त ठाउँमा सुनियोजित तवरले एमालेका कार्यकर्ताहरूले पछाडिबाट हतियारले हानेर घाइते बनाएका थिए।

धादिङको धुवाकोट गाउँ कार्यसमितिका सभापति सन्तोष बस्ताकोटीलाई एमालेका वडा प्रमुखसहितको ९ जनाको समूहले शुक्रबार बिहान ६ बजे सुतिरहेको अवस्थामा खुकरीसहितको धारिलो हतियारले आक्रमण गरी गम्भीर घाइते बनाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। घाइतेको बस्ताकोटीको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले हेलिकोप्टरबाट काठमाडौं ल्याई ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गरी नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लंदो अपार जनलहरबाट अताल्लिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरूलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले एमालेले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरू दोहोर्याइरहनु अत्यन्त दुःखद् विषय भएको जनाएको छ ।

विज्ञप्तीमा कांग्रेसका नेता एवं कार्यकर्ताहरूको हत्या नै गर्ने मनसायले गरिएको एमालेको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गरिएको छ। साथै यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रूपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको जनाइएको छ।

कांग्रेसले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गरेको छ।