वाम गठबन्धनले सार्वजनिक गर्यो साझा प्रतिवद्धता

0
Shares

सल्यान, (नेस)
सयुंक्त वाम गठबन्धन सल्यानले शुक्रबार साझा प्रतिवद्धता सार्वजनिक गरेको छ। सदरमुकाम खलंगामा पत्रकार सम्मेल गरी हाम्रो सल्यान, समृद्ध सल्यान, समाजवादी मार्ग हाम्रो अभियान समृद्ध सल्यान हाम्रो अभियान भन्ने मूल नारा दिइएको १३ बुँदे साझा प्रतिवद्धता सार्वजनिक गरिएको हो।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संघीय प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतले नयाँ अध्याय शुरू भएको भन्दै यो निर्वाचन अघिको ७० वर्षको इतिहास र निर्वाचनपछिको ५ वर्षको इतिहासलाई राम्रोसँग मूल्यांकन गर्ने बेला आएको बताउनुभएको छ।

आफूहरूको प्रतिवद्धतापत्रमा अबको सल्यान कस्तो हुने भनिएको र आफूहरूले त्यो पूरा गर्ने बताउनुभएको छ । ५ वर्षका लागि गर्नुपर्ने कामको राम्रो खाका नै घोषणापत्र भएको भन्दै आफूलाई सहयोगसहित शक्ति मिल्ने बताउनुभयो। गाउँमा वाम गठबन्धनप्रति नयाँ ढंगले नयाँ लहरमा आकर्षण पैदा भएको भन्दै विकास सिद्धान्तलाई राम्ररी बुझ्नुपर्ने बताउनुभयो।

साझा प्रतिवद्धतापत्रमा जिल्लाका ५ स्थलमा स्मार्ट सिटी निमार्ण गरी उक्त स्थानमा फ्रि वाइफाई जोन निमार्ण गर्नेेदेखि ५ वर्षभित्रमा जिल्लाका ८३ वटै वडाका केन्द्रसम्म पम्की बाटो निमार्णसम्मका महत्वकांक्षी योजना समावेश गरिएको छ। यस्तै सल्यान जिल्लालाई रिङ रोड, नगरपालिकामा बहुप्राविधिक शिक्षालय र गाउँपालिकामा प्राविधिक शिक्षालय, ८३ वडामा स्वास्थ्य चौकी स्थापना गरिने साझा प्रतिवद्धतामा समावेश गरिएको छ।

यस्तै विभिन्न सडक स्तरोन्नती तथा कालोपत्रे विभिन्न खोलामा पक्कि पुल, अद्यौगिक विकास, सूचना सञ्चारको विकासजस्ता महत्वकांक्षी प्रतिवद्धता सार्वजनिक गरिएको छ। यस पटकको साझा प्रतिवद्धता पनि विगतको निरन्तरताजस्तै देखिएको छ।