६४ हजार सेना व्यारेकबाहिर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाबाट ६४ हजार फौज परिचालन गरिएको नेपाली सेनाले जनाएको छ। चुनावका लागि खटिएका सेनाको फौजले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्ने जनाएको छ।

निर्वाचनमा खटिएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइमा सुरक्षा प्रदान गर्नुका साथै पहिलो चरणको निर्वाचनका लागि नेपाली सेनालाई तोकिएका स्थानहरूमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरूमध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न गर्नुको साथै बाँकी रहेका केही जिल्लाहरूमा मतपत्र ढुवानी गरिरहेको उल्लेख गरेको छ।

नेपाली सेनालाई कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मेवारी प्राप्त भएअनुसार हालसम्म देशका विभिन्न ५३ वटा कारागारहरू र २३ वटा विमानस्थलहरूको सुरक्षाका लागि फौज तैनाथ भइसकेको पनि सैनिक मुख्यालयले जनाएको छ।

निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन आसन्न निर्वाचनमा सुरक्षाको तेस्रो घेराको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएअनुसार संवेदनशीलतालाई दृष्टिगत गरी गुल्म तथा सेमु स्तरको बस स्थापना गरी सुरक्षा प्रदान गर्ने कार्यमा नेपाली सेना खटिएको पनि सेनाले जनाएको छ।

सोही क्रममा देशका विभिन्न भागमा शंकास्पद वस्तु तथा बमहरू फेला परेका घटनाहरूमा तदारुकताकासाथ सैनिक व्यक्तिहरू खटिई त्यस्ता शंकास्पद वस्तुहरूलाई सुरक्षितसाथ निस्क्रिय गर्ने कार्यसमेत गरिरहेको सैनिक मुख्यालयले जनाएको छ।

सोही क्रममा गत कात्तिक २२ गतेदेखि मंसिर ८ गतेसम्म पाँचथरको फिदिम, फाकफोकथुम र हिलिहाङ, जाजरकोटको चौरजहारी, सिन्धुपाल्चोकको मेलम्ची र बाह्रविसे, रोल्पाको भदौरे, रामेछापको खाडाँदेवी, ओखलढुङ्गाको मोलुङ, लम्जुङ जिल्लाको बेंसीशहर, पर्वतको कुश्मा, धादिङको नीलकण्ठ, गजुरी, गल्छी र घाटबेंसी, बाग्लुङको बढीगाउँ र निशिखोलामा भेटिएका बम निष्कृय पारेको जनाएको छ।

अछामको साँफेबगर, संखुवासभाको धर्मदेवी, रूपन्देहीको बुटवल, रौतहटको गुजरा र कटानी, रसुवाको उत्तरगया, चितवनको भरतपुर, खोटाङको हलेसी, गोर्खाको गण्डकी र सिरानुचोक, नुवाकोटको शिवपुरी र विदुर, दाङको शान्तिनगर, कालिकोटको छाती, नवलपरासीको देवचुली एवं दोलखाको भीमेश्वर नगरपालिका गरी ३३ स्थानहरूमा फेला परेका शंकास्पद वस्तु, बम सुरक्षित रूपमा डिस्पोज गरेको सैनिक मुख्यालयले जनाएको छ।