खोटाङको ‘गोल्डेन गेट’ मानिएको जयरामघाटको पक्की पुल सञ्चालनमा

0
Shares

रामधन राई, खोटाङ । पुर्बी पहाडी जिल्ला खोटाङको बिकासमा स्वर्णद्वार साबित हुने भनिएको जयरामघाटस्थित दुधकोसी नदीको पक्की पुल सञ्चालनमा आएको छ । निर्माण सुरु गरिएको ८ वर्षपछि करिब ११ करोडको लागतमा सम्पन्न भएको मोटरेवल पक्की पुल शुक्रबार बिहानदेखि सञ्चालनमा आएको हो ।

खोटाङको मुख्य नाकामा पर्ने ओखलढुंगासँगको सिमाना दुधकोसीस्थित १ सय ५० मिटर लामो मोटरेवल पुल जिल्लाबासीको लामो पर्खाई तथा सरोकारवालाको निरन्तरको खबरदारीपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । आरसीसी ससपेन्सन मोटरेबल ब्रिज हर्कपुर सडक डिभिजन प्रमुख इश्वरबहादुर रिजालले डिभिजनको गाडी पार गराएपछि सर्वसाधारणका लागि पुल स्थायी रुपमा खुला भएको हो । बाटोमा पार गर्नुपर्ने दुधकोसीमा सम्पन्न गर्नुपर्ने म्याद नाघेको ५ बर्षपछि मोटरेबल पुल सञ्चालन हुँदा खोटाङ स्थायी रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
दुधकोसीको ससपेन्सन ब्रिजलाई नेपालमा नेपालीले बनाएको पहिलो पुल मानिएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताउनुभयो ।

२०६४ सालदेखि यातायात सञ्चालन भएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको थियो । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाखभन्दा बढी राज्यकोषको रकम समेत खर्च हुँदै आएको थियो ।

नवनिर्मित पुल खुला गरिएसँगै अहिले राजधानी, पुर्वी तराई जाने र जिल्ला भित्रिने सवारी साधन सिधै वारपार गर्ने बाटो खुलेको छ । यस्तै, तराईबाट जिल्ला भित्रिने उपभोग्य सामान दुधकोसीमा भरियामार्फत झार्नु, नदी तार्नु र पुनः गाडीमा चढाइरहनुपर्ने बाध्यता हटेको यातायात व्यवसायीको भनाई छ । बिक्रम पाण्डेको कालिका कन्ट्रक्सन र दिवाकर गोल्छाको हुलास कम्पनीले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । पुल सञ्चालनमा आएपछि जिल्लाबासीले बर्षौंदेख खेप्दै आएको शास्तीमा कमी आउने जिल्लाबासीको भनाई छ । अब जिल्लाको बिकासले तीब्रता पाउने बिकासप्रेमीहरु बतााउँछन् ।

प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनलाई केन्द्रीत गर्दै सञ्चालनमा ल्याईएको पुललाई अनौपचारिक रुपमै सञ्चाालनमा ल्याईएको हो । जिल्लाको समग्र बिकासमा बाधक बनेको दुधकोसीस्थित पक्की पुल केही समयपछि औपचारिक रुपमा उद्घाटन गरिने जनाईएको छ ।