शिवम् सिमेन्टका प्रवन्ध निर्देशक मारु पक्राउ



हेटौंडा, (नेस) । हेटौंडाको हटियामा रहेको देशमै ठूलोमध्ये एक निजी उद्योग शिवम् सिमेन्ट उद्योगले अवैधरुपमा खानी उत्खनन् गरेको भन्दै उद्योगका प्रवन्ध निर्देशक रघुनन्दन मारुलाई पक्राउ गरिएको छ ।
शिवम्ले सञ्चालन गर्दै आएको मकवानपुरको साबिक सुकौरा गाविस वडा नम्बर–६ (हाल मकवानपुरगढी–७) को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर–९ (हाल बकैया–१२) मा रहेको चुनढुंगा खानीमा अवैधरुपमा उत्खनन् गरिएको भन्दै उद्योग प्रमुख मारुलाई पक्राउ गरी मुद्दा दायर गरिएको हो ।
दुवै खानीमा उत्खनन् गर्न विभागसँग स्वीकृति लिए भन्दाबढी उत्खनन् गरिएकाले पक्राउ गरिएको हो । जिल्ला बन कार्यालय मकवानपुरले स्वीकृति लिए भन्दा बढी खानी उत्खनन् गरेकाले पक्राउ गरिएको जनाइएको छ । पक्राउपछि उहाँलाई ३७ लाख ६० हजार रुपियाँ बिगो दाबीसहित त्यति नै जरिवाना तोकेर जिल्ला अदालत मकवानपुरमा मुद्धा दायर गरिएको जिल्ला बन कार्यालय मकवानपुर प्रमुख राजेन्द्र न्यौपानेले बताउनुभयो ।
तोकिए भन्दा बढी क्षेत्रमा उद्योगले खानी उत्खनन् गर्दै आएको गुनासो बढ्दै गएको थियो । त्यसलगत्तै जिल्ला बन कार्यालय मकवानपुरको टोलीले खानी क्षेत्रको स्वीकृति लिइएको क्षेत्र र अन्य क्षेत्रको नापजाँच गरेपछि बिहीबार अदालतमा मुद्धा दायर गरिएको अनुसन्धान अधिकृत रामबाबु यादवले बताउनुभयो ।
उद्योग प्रमुख मारुलाई जिल्ला बन कार्यालय मकवानपुरले कार्तिक २८ गते उपस्थित गराएर हिरासतमा राखेको थियो । पक्राउपछि मारुलाई अदालतमा म्याद थप गरेर जिल्ला बनको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्