पार्किङस्थल खोजिँदै



कुमार श्रेष्ठ, बाँके
गाडीको चाप र जथाभावी रोकेर दुर्घटना बढाउने काम भएपछि सुर्खेतरोडमा पार्किङस्थलको खोजी भएको छ।

राँझाचोकदेखि गणेशमानचोकसम्मका क्षेत्रमा कहाँ–कहाँ पार्किङस्थल राख्ने भन्ने स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउन समिति नै बनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका, सडक, ट्राफिक, जिल्ला र संघीय प्रहरी एकाईका प्रतिनिधि सम्मिलित टोलीले आइतबारदेखि अनुगमन थालेको छ। राँझाचोकदेखि गणेशमानचोक र चारबाहिनीदेखि जिल्ला प्रशासन कार्यालय आसपाससम्ममा कहाँ–कहाँ पार्किङस्थल बनाउने भन्ने खोजी भएको हो।

नेपालगन्जको सुर्खेतरोड फोरलेन भए पनि गाडीको चाप र पछिल्लो वर्षदेखि अत्यधिक बढेको अटोरिक्साका कारण ट्राफिक अस्तव्यस्त रहेको छ। नगरमा चल्ने माइक्रोबस, साना गाडी र अटोरिक्साहरूले जथाभावी रोक्ने, ठूला गाडी र मोटरसाइकलको चापले गर्दा नगरको ट्राफिक व्यवस्था दयनीय हुँदै गएको छ। चौतर्फी गुनासो आएपछि नेपालगन्ज उपमहानगरपालिकाले प्रहरीसँग मिलेर पार्किङस्थलको खोजी थालेको हो। राँझाचोकदेखि गणेशमानचोकसम्म ३५ देखि ४० ठाउँमा पार्किङस्थल बनाउने तयारी भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख होमबहादुर थापाले राँझाचोकदेखि गणेशमानचोकसम्म ३५ देखि ४० ठाउँमा पार्किङस्थल बनाउने बताउनुभयो। ‘पार्किङस्थल बनाएर अन्यत्र गाडी रोक्न दिइएन भने ट्राफिक अस्तव्यस्त हटाउन सकिन्छ’, थापाले भन्नुभयो– ‘हामी त्यसमा लागेका छौं। २÷३ दिनमा प्रतिवेदन बुझाउँछौं।’

सबैभन्दा बढी चाप रहेको सुर्खेतरोडमा अहिले चोकचोकका साथै जथाभावी गाडी रोकेर यात्रु चढाउने र ओराल्ने गरिन्छ। साना ठूला नगर बसको तीव्र प्रतिस्पर्धाले गर्दा यात्रुहरू अझ बढी मारमा परेका छन्। अगाडि रहेको गाडी कहाँ रोक्छ र कतिबेला हिँड्छ भन्ने पत्तै हुँदैन। बजारमा आउने मानिसहरूले पनि जहाँपायो त्यही गाडी रोक्ने गर्दछन्। पार्किङस्थल व्यवस्थित हुन सकेमा अन्यत्र सवारी साधन रोक्ने काम रोकिन्छ।
सडकका डिभाइडरहरू कहाँ–कहाँ राख्ने र हटाउने भन्ने पनि समितिले अनुगमन गरेको छ। ‘पार्किङस्थलको पहिचान र डिभाइडर उचित ठाउँमा रहे÷नरहेको भन्नेबारेमा अनुगमन थालिएको छ, हामीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउँछौं’ –नेपालगन्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शरद पौडेलले भन्नुभयो।

बढी चाप हुने सुर्खेतरोड र अदालत, मालपोत, जिल्ला प्रशासन, भूमिसुधार कार्यालय आसपासमा पनि टोलीले पार्किङस्थलको सम्भाव्यता अध्ययन थालेको छ। नेपालकै पुरानो शहर भएर पनि व्यवस्थित बसोबास नहुँदा नेपालगन्ज कुरुप बन्दै गएको छ। २० वर्षपछि स्थानीय निकायमा आएका जनप्रतिनिधिले शहरलाई व्यवस्थित गर्ने कोसिस गरेका छन्।

२० वर्षअघि नै नेपालगन्जको न्युरोडलाई पार्किङको परिकल्पना गरिएको थियो। दिन प्रतिदिन मुख्य बजार क्षेत्र बन्दै गएको न्युरोडमा पनि पार्किङस्थलको अभाव रहेको छ। अहिलेसम्म मुख्य बजार मानिएको सदरलाइनमा पार्किङस्थलको उस्तै समस्या रहेको छ। व्यवस्थित ढल निकास नहुनु, फोहोरको व्यवस्थापन नहुनु, पार्किङस्थल नहुनुलगायत नेपालगन्जका नराम्रा पक्ष मानिन्छन्। यी कुरामा जनप्रतिनिधिले चासो दिन थालेका छन्। व्यवस्थित बसपार्क बनाउने काम शुरू भइसकेको छ। सदरलाइन विस्तारको काम अघि बढेको छ। ढल, नाली व्यवस्थित गर्नमा ध्यान दिन थालिएको छ। नगरको फोहोर फाल्ने ठाउँ बनाउन थालिए पनि त्यो कछुवाको गतिमा अघि बढ्नु फोहोर व्यवस्थापनका लागि चुनौती बनेको छ। नेपालगन्जमा छुट्टाछुट्टै सवारीसाधनका लागि छुट्टाछुट्टै पार्किङस्थल बनाउन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्