नेतालाई भोट माग्न चटारो किसानलाई धान काट्न हतारो


नरेन्द्र केसी, घोराही, दाङ
दाङको तुलसीपुर १९ कुटीचौरमा चुनावीसभा चलिरहेको थियो तर २ सय मिटर नजिकको खेतमा खेतमा रहेका किसानलाई सभाले छोएको देखिएन। कोही किसान धान काटिरहेका थिए भने कोही धान दाइरहेका थिए तर नजिकै २ घण्टासम्म चलेको चुनावीसभामा उनीहरू गएनन्।

‘चुनाव भर्खर शुरू भएकाले चुनावी कार्यक्रम हेर्दै गरौंला तर धान स्याहार्न सकिएन भने वर्षभरि भोकै बस्नुपर्छ’, स्थानीय धनबहादुर ओलीले भन्नुभयो– ‘त्यसैले १⁄२ घण्टाको भाषण सुन्नुभन्दा वर्षभरि खाने धान स्याहार्नु नै हाम्रो लागि ठूलो कुरा हो।’ तराईका जिल्लामा धान स्याहार्ने बेला भएकाले चुनावको रौनकले अझै छोइसकेको छैन।

दाङ थारु बाहुल्यता भएको भित्री मधेसमा पर्ने जिल्ला हो। यहाँको बंगलाचुली गाउँपालिकाबाहेक अन्य ९ वटा स्थानीय तह तराईमै पर्दछन्। गाउँका किसान खेतबारीमा व्यस्त भएकाले दलहरूले पनि त्यस्तै कार्यक्रम बनाएका छन्। शुरूमा उनीहरूले बनाएका कतिपय कार्यक्रम पनि किसानकै व्यस्तताका कारण संशोधन गरेका छन्।

तराईका भूभागमा किसान खेतबारीमा व्यस्त देखेपछि दलहरूले अहिले जिल्लाका पहाडी भेगमा चुनावी कार्यक्रम केन्द्रित गरेका छन्। ‘हामीले पहाड र तराई मिलाएरै कार्यक्रम गरिरहेका छौं तर पनि अझै केही दिन धान स्याहार्न किसान व्यस्त भएकाले कार्यक्रम पहाडमा फोकस गरेका छौं’– नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले भन्नुभयो। जसअनुसार एमाले–माओवादी केन्द्रको गठबन्धनले पहाडी भूभागमा पर्ने बंगलाचुलीमा दिनहुँ सभा गरिरहेको छ।

कांग्रेस दाङका सचिव शंकर डाँगीले पनि गाउँमा अझै चुनावको रौनक नछाएको स्वीकार गर्नुभयो। ‘हामी अहिले पनि गाउँमै छौं तर आउनुपर्ने जति चुनावको रौनक आइसकेको छैन’, उहाँले भन्नुभयो– ‘किसानहरू धान काट्न व्यस्त रहेकाले पनि चुनावको रौनक नआएको हुनसक्छ।’ त्यसो त भर्खरै स्थानीय तह निर्वाचन भएकाले पनि निर्वाचनप्रति धेरै चासो नभएको हुनसक्ने उहाँको भनाइ छ।

किसानजति खेतमा व्यस्त भएकाले अहिले दलहरूले चुनावीसभामा जनताभन्दा आफ्नै कार्यकर्ता मात्रै धेरै आउने गरेका छन्। ‘जहाँ सभा गरे पनि उनै मान्छे हुन्छन्, कतिबेला त सबै कार्यकर्ता पनि देखिदैनन्’, एक नेताले भने– ‘अझै एक हप्तासम्म यस्तो अवस्था आउने देखेका छौं, किसानले धान भित्रइइसकेपछि भने गाउँमा पनि चुनावी रौनकता छाउने छ।’

यो वर्ष दाङमा धान खेती राम्रो भएकाले पनि किसानहरू बाली स्याहार्न उत्साहित छन्। आर्थिक २०७३⁄०७४ मा ३७ हजार ७ सय हेक्टर क्षेत्रफलमा १ लाख ६७ हजार छ सय ८ धान मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष यो परिमाण २ लाख मेट्रिक टन पुग्ने अपेक्षा गरिएको छ। अहिले किसानले धान भित्रइउने काम चलिरहेकाले अन्तिम परिमाण नआए पनि किसानले १ लाख ६१ हजार ५ सय ९५ मेट्रिक टन धान भित्रइइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।