मतदाता भन्छन्– “सुशासन दिनेलाई भोट”


ललित सिंह, बझाङ
राजनीतिक दल, नेता र उनीहरूका आसेपासेको इसारामा शासनसंयन्त्र सञ्चालन भइरहेको बताउँदै बझाङ जिल्लाका सचेत मतदाताले सुशासन दिने नेतालाई मत दिने बताएका छन्।

‘सधै पार्टी हेर्यौं अब व्यक्ति हेरेर मतदान गर्छाैं’, खप्तडछान्ना गाउँपलिकाका ज्ञानबहादुर रोकायाले भने– ‘अहिलेसम्मका नेताले आफ्ना कार्यकर्तालाई काखी च्याप्ने काम मात्र गरे। हामीलाई त सुशासन दिने नेता चाहिएको छ।’ उनले दल विशेषका कार्यकर्तालाई संरक्षण गर्ने नेताहरूको व्यवहारका कारण जिल्लाको विकास हुन नसकेको बताए।

उनी मात्र हैन चुनावी चहलपहल बढ्दै जाँदा बझाङका चिया पसल, पानीपँधेरो र चोक चौताराहरूमा कसलाई भोट हाल्ने भन्ने चर्चा पनि चुलिँदै गएको छ। प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासीहरू प्रचारका लागि गाउँ पसेसँगै चुनावी माहौल एकाएक तातेको छ।

अघिल्ला निर्वाचनमा कुन दल रोज्ने भन्ने विषयले बढी महत्त्व पाउने चियागफहरूमा यो पाला यसअघिका जनप्रतिनिधिहरूको काम व्यवहारको समीक्षा हुन थालेको छ। ‘जनताको विकास गर्नेभन्दा पनि आफ्नै कार्यकर्ता पोस्ने खालका व्यक्ति चुनेका कारण जिल्लाको विकास हुन नसकेको हो’, कैलाशका सुरत सिंहले भने– ‘आफ्नो पार्टीलाई भोट नहाल्ने मान्छे त जनता नै होइनजस्तो गर्छन्। ’

मत नदिएकै कारण विभिन्न खालका झुटा मद्दा लगाएर फसाउने, दुःख दिनेजस्ता काम नेताहरूबाटै भएको बताउँदै जयपृथ्वी नगरपालिकाका अशोक खड्काले भने– ‘न्याय र अन्याय छुटइउने नेतालाई भोट दिने हो। जुन दलको भए पनि जनतालाई सम्मान र संरक्षण गर्ने नेतृत्त्व नआएसम्म जिल्ला बन्दैन’

चुनावका विषयमा जिल्लामा हुने गरेका अनौपचारिक छलफलहरूमा नेताले पक्षपात र भेदभावपूर्ण व्यवहार गरेकै कारण जिल्ला बिग्रेको आरोप लगाउनेहरूको पनि कमी छैन। बुङल नगरपालिकाका विक्रम ओखेडा भन्छन्– ‘नेता गतिलो भइदिएको भए देशमा लोकतन्त्र आएको यत्रो वर्षसम्म पनि बझाङलाई दुर्गम घोषणा गरिदिनुपर्यो भनेर आन्दोलन गर्नुपर्ने थिएन होला, विकास भइसक्थ्यो होला, हामीले नै गलत मान्छे छानेका कारण दुःख पायौं भनेर धेरैले बुझिसकेका छन्। अब मेरो पार्टीभन्दा पनि मेरो ठाउँको विकास गर्ने इच्छा शक्ति कोसँग छ भन्ने सोच्ने बेला आएको छ।’

चिया गफमा केही सचेत युवाहरूले नेताहरूको समीक्षा र प्रतिबद्धताका विषयमा छलफल गर्ने गरेको भए पनि ग्रामीण क्षेत्रका अधिकांश मतदाता भने दलको चुनाव चिह्न हेरेर नै मतदान गर्ने बताउँछन्। दलहरूबीच भइरहेको धुव्रीकरणका कारण पनि धेरैजसो मतदाताहरूलाई व्यक्तिभन्दा पार्टी नै बलियो बनाउनतिर लाग्नुपर्नेमा दलका कार्यकर्ता र उम्मेदवारले विभिन्न माध्यमबाट उत्प्रेरित गरिरहेका छन्।