क्याटालोनिया अलगिन चाहनुमा पहिचानको मुद्दा प्रमुख


 

बार्सिलोना, (एजेन्सी)
युरोपको आइबेरियाली प्रायद्विपमा पर्ने देश स्पेन आफ्नो फ्लामेन्को नृत्य, गोलभेंडा उत्सव ला टोमेटिना र साँँढे जुधाई खेलका लागि विश्व प्र्रसिद्ध छ।

युरोपमा पनि सम्पन्न देशकै दर्जामा पर्ने स्पेन हालैका दिनमा राजनीतिक संकटका कारण चर्चामा छ। यो संकट भनेको पृथकतावादी आन्दोलन हो। स्पेनभित्र पनि सम्पन्न मानिएको उत्तरपूर्वी हिस्सा क्याटालोनियाको स्वतन्त्र हुने चाहनाले स्पेन सरकारको निन्द्रा खल्बल्याएको छ भने स्वयं क्याटालोनियाको स्वायत्त क्षेत्रको अधिकार संवैधानिक संकटमा रूपान्तरण भएको छ।

स्पेन महासंघका रूपमा नभई विकेन्द्रित एकीकृत देश हो। स्पेनअन्तर्गत १७ वटा स्वायत्तता क्षेत्र छन्, जसको फरक–फरक झण्डा छन्। यसैमा एक क्याटालोनिया पनि पर्दछ र यो स्पेनको उत्तरपूर्वी हिस्सामा त्रिकोण आकारमा फैलिएको एक समृद्ध क्षेत्र हो।

क्याटालोनियामा स्पेनबाट पृथक हुने आवाज पुरानै हो। तर, गत अक्टोबर १ मा भएको विवादास्पद जनमत संग्रहले यसलाई एकाएक उत्कर्षमा पुर्याएको छ। जनमत संग्रहको नतिजापछि क्याटालोनियाको संसद्ले स्वतन्त्रता घोषणा गर्यो जुन क्याटालोनियाका धेरैजसो नागरिकका लागि उत्सवको क्षण थियो।

तर, स्पेनले उक्त घोषणालाई चुनौती दिँदै क्याटालान सरकारलाई बर्खास्त गरिदिएर त्यहाँ शासन स्थापित गर्यो। त्यसपछि स्पेनको एकताको पक्षमा क्याटालोनियाको अलग हुने चाहनाविरुद्ध एक ठूलो र्यालीको आयोजना भयो जसमा एकताको नारा र स्पेन जिन्दावादको गीत घन्किएको थियो।

स्वतन्त्र अस्तित्वको पहिचान
क्याटालोनियाले आफूलाई स्पेनबाट अलग भएको ठान्नु उसको इतिहास, संस्कृति र भाषासहितको अलग्ग पहिचान नै हो। जसले उसलाई स्पेनभन्दा फरक गर्छ। विशेष गरी स्पेनिस भाषाको समानान्तर क्याटालन भाषा त्यहाँ अस्मिताको मुद्दा रहेको छ। यो भाषा स्पेनिससँग जति नजिक छ, त्यति नै दक्षिणी फ्रान्सको आक्किटन क्षेत्रको बोलीसँग नजिक छ।

क्याटालोनियाका ७५ लाख आवादी क्याटालन भाषा बोल्छन्। स्पेनमा स्पेनिस भाषा बाल्छन्। दुवैको लिपी एउटै हो तर उनीहरूमा अन्तर छ। यद्यपि स्पेनमा विगत ३० वर्षदेखि क्याटालनलाई एक अलग भाषाका रूपमा मान्यता दिएको छ र स्कुलमा पनि पढाइ हुने गरेको छ।

भाषाबाहेक पनि क्याटालोनियाको इतिहास स्पेनको भन्दा भिन्न नै हो। ६ सयदेखि ७ सय वर्षसम्म आफ्नो स्वतन्त्र अस्तित्वमा रहेको यो भू–भाग स्पेनमा मिलाउनु त्यहाँका बासिन्दालाई असहज लाग्नु स्वाभाविक हो र उनीहरूको त्यसलाई स्वीकार गर्न नसकेको अवस्था हो।

११औं शताब्दिमा क्याटालोनिया कन्ट्री अफ बार्सिलोनाको नाममा एक पृथक राज्यको रूपमा थियो। तर, १५औं शताब्दिमा क्यास्टिलकी रानी इजाबेलो छिमेकी राज्य एरागानका राजा फर्डिनेन्डसँग विवाह गरी दुवै राज्यलाई मिलाएका थिए। त्यति बेलादेखि क्याटालोनिया स्पेनको हिस्सा बन्यो।

शुरूमा क्याटालोनियाले आफ्नो संस्थाहरू अलग्गै अस्तित्वमा राखेको थियो तर पछि स्पेनिस् राज्यको नजिक हुँदै गयो। आधुनिक इतिहासमा सन् १९३१ मा स्पेन एक गणतन्त्रका रूपमा अस्तित्वमा आएपछि क्याटालोनियालाई स्पष्ट स्वायत्तता दिइएको हो।

तर, सन् १९३६ देखि १९३९ सम्म चलेको गृहयुद्धपछि स्पेनमा जनरल फ्रान्को फ्राँस्वाँको सैन्य शासन स्थापित भयो। उनले क्याटालोनियाको स्वायत्तता अन्त्य गरे र भाषाको अधिकार पनि खोसेका थिए। हालको स्थिति त्यो हदसम्म गएको नदेखिएपछि स्पेनका प्रधानमन्त्री मारियानो रजोयको कदमलाई लिएर क्याटालोनियाका नागरिकमा आक्रोश फैलिएको छ। उनीहरूले यसलाई उनीहरूको अस्तित्वमाथि स्पेनको दमनकारी नीति मानेका छन्।

फ्रान्कोको शासन केही दशकसम्म चलेपछि सन् १९७८ को नयाँ संविधानले क्याटालोनियालाई थप अधिकारसहितको स्वायत्तता दिइएको थियो। सन् २००६ मा थप स्वायत्तताको अधिकार दिइयो। तर, सन् २०१० मा स्वायत्तताका कयौं मुद्दा फिर्ता लिइएको थियो। यस घटनालाई लिएर पनि त्यहाँका नागरिकमा रोष थियो।

सन् २०१५ मा जब क्याटालोनियामा काल्र्स पुजिमोन्टको सरकार आएपछि उनले स्वतन्त्रताको अभियानलाई तीव्रता दिएका हुन्। उनले स्वायत्तताभन्दा अगाडि बढेर स्वतन्त्र देश बनाउने कुरा उठाए।
क्याटालोनिया अलग हुन चाहेको अर्को महत्त्वपूर्ण कारण आर्थिक पक्ष पनि मानिन्छ। क्याटालोनिया स्पेनको अर्थव्यवस्थाको करिब २२ प्रतिशत छ। स्पेनको साढे ४ करोड आवादीबाट यदि ७५ लाख अलग हुने हो भने उसको जनसंख्यामा पनि असर पार्नेछ। स्पेनको निर्यातमा २५⁄२६ प्रतिशत हिस्सा क्याटालोनियाको रहेको छ।

कयाटालोनिया स्पेनको सबैभन्दा धनी राज्य होइन। यस मामिलामा मेड्रिड सबैभन्दा माथि छ। तर, शीर्ष ३⁄४ वटा समृद्ध प्रान्तमा उसको पनि नाम आउँछ। त्यसैले पनि स्पेनका लागि उसको अलावा आर्थिकरूपमा ठूलो झट्का हुनेछ।

क्षेत्रीय सरकार बर्खास्त गरेपछि स्पेनले क्याटालोनियामा डिसेम्बर २१ मा चुनाव गराउने जनाएको छ। उक्त चुनावमा पनि पृथकताावादी पार्टी सत्तामा आएमा पुनः एकपटक जनमत संग्रहपछिको स्थितिमा फर्किने अनुमान गरिएको छ।