भारतसँगको पीपीए नवीकरण

0
Shares

हेमन्त जोशी, काठमाडौं
नेपाल विद्युत प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच ढल्केबर–मुजफ्पुर अन्तर्देशीय प्रसारणलाइनबाट आगामी डिसेम्बर महिनासम्म हालकै दरमा बिजुली आयात गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) नवीकरण भएको छ।

हालकै दर अर्थात ५ रुपियाँ ७६ पैसा (३ दशमलव ६० भारतीय रुपियाँ) मा अतिरिक्त २ महिनासम्म विद्युत् आयात गर्ने गरी पीपीए सम्झौता नवीकरण भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो। अधिकारीले भन्नुभयो–‘अहिले २ महिनासम्मका लागि सम्झौता नवीकरण भएको छ। आगामी डिसेम्बर ३१ अगाडि उक्त सम्झौता फेरि नवीकरण गर्नुपर्नेछ।’

एनभीभीएन र प्राधिकरणबीच गत अगस्ट २८ मा भएको ऊर्जा सचिवस्तरीय बैठकले गरेको विद्युत् खरिद सम्झौता अक्टोबर मसान्तमा सकिन लागेको थियो। तर, सम्झौता नवीकरण गर्न दुई देशका ऊर्जा सचिवहबीच बैठक बस्न नसक्दा उक्त सम्झौताबारे के भन्ने अन्योलता रहेको थियो। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कम्पनी (जेएससी) मार्फत सम्झौता नवीकरण गर्नुपर्ने भए पनि बैठक बस्न नसक्दा प्रँधिकरण आफैंले उक्त काम गरेको हो। आगामी डिसेम्बरसम्मका लागि सम्झौता नवीकरण भए पनि सो समयभित्र ऊर्जा सचिवहरूको बैठकमार्फत उक्त विषय टुङ्ग्याउनु पर्नेछ।

यसबाट डिसेम्बर मसान्तसम्म १ सय ३२ केभी प्रसारणलाइनमार्फत् नेपालले १ सय ६० मेगावाट विद्युत् आयात गर्नेछ। उक्त सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र भारतका तर्फबाट भारतीय विद्युत व्यापार निगमका सीईओ अरुण कुमार गर्गले हस्ताक्षर गर्नुभयो।

प्राधिकरणले भारत सरकार मातहतको विद्युत् व्यापार निगमसँग गरेको २५ वर्षे दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता अनुसार ढल्केबर मुजफ्फर अन्तर्देशीय प्रसारणलाइनबाट नेपालले वर्षेनी १ सय ५० मेगावाट विद्युत् आयात गर्नुपर्छ।

दीर्घकालीन रुपमा नेपालमा उत्पादित विद्युत् उक्त प्रसारणलाइनमार्फत् निर्यातको लक्ष्य राखिए पनि अहिले भने १ सय ६० मेगावाट विद्युत् आयात भइरहेको छ। प्राधिकरणले प्रसारणलाइन निर्माण गर्ने नेपाली कम्पनी पीटीसीएन र भारतीय कम्पनी सीपीटीसीलाई वार्षिक १ अर्व रुपियाँ तिर्दै आएको छ।

प्राधिकरणको कार्य तालिकाअनुसार यसै महिना ढल्केबर सवस्टेशनको काम सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि चिनियाँ ठेकेदार कम्पनीले काम समयमा सकेको छैन। ढल्केबर– मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइनलाई २ सय २० केभीमा चार्ज गरेर सोही प्रसारणलाइनमार्फत् २ सय मेगावाट विद्युत् आयात गर्ने तयारीमा प्राधिकरण थियो।

 

टनकपुरबाट थप ३० मेगावाट
विद्युत् आयात
नेपाल विद्युत प्राधिकरणले सुख्खायामको विद्युत् माग व्यवस्थापन गर्न टनकपुर नाकाबाट थप ३० मेगावाट विद्युत् आयात गर्ने भएको छ।

बिहीबार विद्युत आयात गर्न द्विपक्षीय सम्झौतामा बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर ट्रेड कर्पोरेशन (पीटीसी) का तर्फबाट डा. राजीवकुमार मिश्रले हस्ताक्षर गर्नुभयो।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सम्झौता कात्तिक १५ बाट लागू भई आगामी जेठमा सकिनेछ। प्रवक्ता अधिकारीले हिउँदमा देखिने विद्युत् माग व्यवस्थापनका लागि २२ देखि ३० मेगावाटसम्म भारतबाट आयात गरिने बताउनुभयो। हरेक वर्ष महाकाली सन्धी अनुसार नेपालले ७ करोड युनिट विद्युत् निःशुल्क पाउँदै आएको छ। सम्झौताअनुसार प्राधिकरणले पीटीसीसँग प्रतियुनिट ३ दशमलव ४४ भारतीय रुपियाँमा विद्युत् खरिद गर्नेछ।