अन्नपूर्ण बेसक्याम्पमा होटल अभाव

0
Shares

 

धन बस्नेत, पोखरा
पदयात्राको सिजनमा अन्नपूर्ण आधार शिविरमा जानेको संख्या बढ्दै गए पनि पर्यटकलाई होटल पाउन मुस्किल पर्न थालेको छ। होटलको कोठा थपिनेतर्फ ध्यान सम्बन्धित निकायको ध्यान नपुग्दा त्यहाँ जाने पर्यटकले सास्ती पाउन थालेका हुन्।

अन्नपूर्ण आधार शिविरमा पदयात्रा शुरु भएको पनि ४ दशक पूरा भइसकेको छ। तर, आधुनिक पर्यटनले उचाई लिए पनि समस्या पनि पुरानै छ। झुपडीयुक्त बेसक्याम्प जाने बाटोमा पहिले टि हाउस मात्रै थिए। तर, अहिले होटल बनिसकेका छन्। ती पनि पर्याप्त छैनन्। होटलको अभावमा गत असोजमा आयोजना गरिएको अन्नपूर्ण महोत्सवमा पर्यटकलाई टेन्टको व्यवस्था गरिएको थियो।

पर्यटकको आगमनमा देखिएको वृद्धिले होटल थप्नुपर्ने अवस्था सिर्जना गरेको छ। तर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भएका होटलमा कोठा थप्न स्वीकृति नदिँदा भएका होटलमा पनि कोठा थप्न नसकिएको व्यवसायीको छ। आधार शिविरमा होटल तथा कोठा नथपिँदा आन्तरिक तथा बाह्य पर्यटक सिजनको बेलामा होटलको पिँढीमा रात कटाएर फर्किनुपर्ने बाध्यता रहेको छ।

हाल पदयात्रा मार्गमा रहेका सिनुवा, ब्याम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ«े आधार शिविर गरी अन्नपूर्ण आधार शिविरमा जम्मा २६ वटा होटल सञ्चालनमा रहेको छन्। ‘अहिले होटलको संख्या दुई दशकअघि जतिकै छ। तर, पर्यटकको आगमन भने वर्षेनी बढ्दै गएको छ।’ अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव–२०७४ का संयोजक ललित गुरुङले भन्नुभयो। होटलको संख्या कम हुँदा पर्यटकले सास्ती पाएका छन्। होटल थप्न स्वीकृति मागेका पनि सम्बन्धित निकायबाट त्यो पाउन नसकेको उहाँको दाबी छ।

गइरहेको होटलले पर्यटकको चापलाई नथेग्ने तर नयाँ पनि बनाउन नदिँदा पदयात्रामा गम्भीर असर पुगेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताउनुभयो। उहाँले भन्नुभयो–‘अब नयाँ होटल थप्नेतर्फ बहस चलाउछौं। आवश्यकताअनुसार होटल थप्न एक्यापसँग आग्रह गर्नेछौं।’

अन्नपूर्ण पदमार्ग क्षेत्रको समग्र विकासका लागि बृहत् गुरुयोजनासहित अघि बढ्नु अपरिहार्य भईसकेको उहाँको भनाइ छ। पदमार्ग क्षेत्रमा रहेका धार्मिक तथा इतिहासिक स्थललाई थप व्यवस्थित गर्दै त्यसको प्रचारप्रसार गर्नु अपरिहार्य रहेको गाउँपालिकाका प्रमुख कुँवरले बताउनुभयो।
पदमार्गमा देउरालीको पूर्वतर्फको पहाडमा अवस्थित बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित अति प्राचीन पूजनीयम् बराह र उक्त मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातो पानीको कुण्डलगायत स्थल रहेका छन्।

घान्द्रुकबाट पदयात्रा गर्दै आधार शिविरसम्म पुग्न पर्यटकले सामान्यतः ३ देखि ४ दिनको समय लाग्दछ। अन्नपूर्ण बेसक्याम्पका लागि ४ दशक अघिदेखि पदयात्रा शुरु भएको थियो। त्यतिबेला अन्नपूर्ण आधार शिविर जाने पर्यटकको बास भेँडी गोठमा हुन्थ्यो। त्यो बाहेक चित्राले बारेको अस्थायी झुपडीमा रात कटाएर गन्तव्यतर्फ उक्लनु पथ्र्यो। हाल अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको मापदण्डअनुसार प्रत्येक होटलमा ६ वटा कोठाका दरले १ सय ५६ वटा कोठा रहेका छन्।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेस ँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो।