दोलखामा चुनावी रौनक शून्य

0
Shares

 

चिरञ्जीवी मास्के, दोलखा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता भइसकेर पनि दोलखामा चुनावी माहोल बन्न सकेको छैन। प्रमुख दलको कार्यालय सुनसान जस्तै छ भने बजार क्षेत्रहरूमा पनि चुनावको चर्चा खासै शुरू भएको छैन।

विगतका निर्वाचनमा बजारको चोक र होटल तथा चिया पसलमा चुनावको बहस र चर्काचर्की हुने गरेकोमा यो पटक मनोनयन दर्ताको ४ दिन बितिसक्दा पनि मानिसहरू चुनावी चर्चा गर्न खासै उत्साहित देखिएका छैनन्। मनोनयनअघि पनि निर्वाचन हुन्छ कि हँुदैन भन्ने आशंका रहेको र मनोनयन दर्तापछि पनि मतपत्रसम्बन्धी अदालतको आदेशका कारण निर्वाचन हुने नहुने आशंका उब्जिएकाले पनि निर्वाचनको माहोल बन्न नसकेको कतिपयको बुझाइ छ।

बिहीबार दिउँसो सदरमुकाम चरिकोटस्थित एमाले पार्टी कार्यालय पुग्दा कार्यालय सचिव कुमार लगुन र अर्का १ जना कार्यकर्ता मात्र भेटिए। एमाले कार्यालयमा न नेताहरू थिए न कार्यकर्ता नै थिए।

कार्यालय सचिव कुमार लगुनले पार्टीका अधिकांश नेता काठमाडौंमा सम्पर्क मञ्चको कार्यक्रममा गएकाले कार्यालय सुनसान देखिएको बताए। कात्तिक ११ गते पार्टीले कार्यकर्ता भेला आयोजना गरेको र १२ गते वाम गठबन्धनको संयुक्त भेला राखिएकाले त्यसपछिमात्र चुनावी माहोल तयार हुने एमाले कार्यालय सचिव लगुनको भनाइ छ। काठमाडौंका मतदातालाई निर्वाचनमा मतदानका लागि जिल्ला ल्याउनु पनि दलहरूको दायित्व भएकाले अहिले सबै काठमाडौं केन्द्रित भएको लगुन बताउँछन्।

वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी सहसंयोजक माओवादी केन्द्रका नेता गोपाल पाण्डे पनि उम्मेदवार र पार्टीका नेताहरू काठमाडौंमा केन्द्रित रहेकाले जिल्लामा चहलपहल नभएको बताउँछन्। शुक्रबार काठमाडौंमा वाम गठबन्धनको संयुक्त कार्यक्रम रहेको र त्यसपछि सबै नेता तथा उम्मेदवार जिल्लामा आएपछि चुनावको माहोल बन्ने पाण्डेको विश्वास छ। मतपत्रसम्बन्धी अदालतको आदेशले चुनावी माहोललाई खासै असर नपारेको पाण्डे बताउँछन्। मनोनयन दर्ता भइसकेकाले मतदाताहरू निर्वाचन तोकिएकै मितिमा हुने कुरामा विश्वस्त रहेको पाण्डे बताउँछन्। कात्तिक १२ गते वाम गठबन्धनको जिल्लास्तरीय भेला हुने र त्यसपछि चुनावी अभियान शुरू हुने त्यसपछि जिल्लामा चुनावी माहोल तात्तिने विश्वास सहसंयोजक पाण्डेले व्यक्त गर्छन्।

नेपाली कांग्रेस, दोलखाका सचिव सन्तोष रिमालको बुझाइ पनि लगुन र पाण्डेको भन्दा फरक छैन। सचिव रिमाल पनि उम्मेदवार र पार्टी नेताहरू अहिले काठमाडौंमा व्यस्त रहेकाले जिल्लामा चुनावी माहोल बनिनसकेको बताउँछन्। निर्वाचनका लागि उम्मेदवार महत्त्वपूर्ण हँुदोरहेछ सचिव रिमालले भने– ‘उम्मेदवार नै नभएकोले जिल्लामा चुनावी माहोल बन्न सकेको छैन।’

नेपाली कांग्रेस, दोलखाको जिल्ला समिति बैठक शुक्रबार राखिएको र त्यसपछि पार्टीले कार्यक्रम बनाएर अभियान शुरू गरेपछि माहोल बन्ने रिमाल बताउँछन्। मतपत्रसम्बन्धी अदालतको आदेशले निर्वाचनमा खासै असर नगर्ने कांग्रेस सचिव रिमालको बुझाइ छ। निर्वाचन तोकिएकै मितिमा हुने कुरामा आफू विश्वस्त रहेको रिमाल बताउँछन्।