इंग्ल्यान्ड विश्वकप फाइनलमा


नयाँ दिल्ली, (एजेन्सी)
लिभरपुलका स्ट्राइकर रियान ब्रिउस्टरकोह्याट्रिकले इंग्ल्यान्ड भारतमा जारी यू–१७ विश्वकपको फाइनलमा पुगेको छ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डले ब्राजिललाई ३–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान पक्का गर्यो। इंग्ल्यान्डले शनिबार हुने फाइनलमा माली वा स्पेनविरुद्ध खेल्नेछ। ब्रिउस्टरले पहिलो गोल गर्न केवल १० मिनेटको समय लिएका थिए। चेल्सीका १६ वर्षीय मिडफिल्डर कालम हडसन ओडोइको पासमा ब्रिउस्टरले पहिलो गोल गरेका थिए। त्यस्तै ब्राजिललाई २१ मिनेटपछि वेस्लीले गोल गर्दै बराबरीमा पुर्याएका थिए। ब्रेनरले पहिलो हाफ सकिन १५ मिनेट अगाडि गोल गर्न चुक्दा ब्राजिल अग्रता लिनबाट वञ्चित भएको थियो।

तर ब्रिउस्टरले दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफसम्म २–१ को स्थितिमा राखे। यो गोलसँगै उनी प्रतियोगिताको गोलकर्ताको सूचीमा शीर्ष स्थानमा समेत पुगेका थिए। १७ वर्षीय खेलाडीले ७६औं मिनेटमाह्याट्रिक पूरा गरेका थिए। फोडेनको लो क्रस बललाई उनले ब्राजिलको जाली चुमाएका थिए।

ब्रिउस्टरले यसअघि क्वार्टरफाइनमा पनि अमेरिकाविरुद्धह्याट्रिक गरेका थिए।
इंग्ल्यान्डको यू–१७ फुटबल टोली सो उमेर समूहको विश्वकप फाइनलमा पुगेको पहिलो पटक हो। जबकि ब्राजिलले पाँचपटक फाइनलमा पुगेको र तीनपटक उपाधि जितेको छ। यो हारले ब्राजिलको १२ वर्षपछि यो उमेर समूहको विश्वकप फाइनलमा पुग्ने आशा समाप्त भएको छ। यसअघि दक्षिण अमेरिकी टोलीले सन् २००५ मा यू–१७ विश्वकप फाइनलमा स्थान बनाए पनि मेक्सिकोसँग ३–० गोलले हारेको थियो।