चार देशको टेन्डरमा चासो


धन बस्नेत, पोखरा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पोखराको फुटबल मैदानसहित प्याराफिट तथा एथ्लेटिक्स ट्र्याक बनाउने ग्लोबल टेन्डर आ≈वान गरेको छ। मंगलबार सार्वजनिक सूचना निकालेपछि चार देशले पोखरा रंगशालाको फुटबल मैदानसहित रूफटपयुक्त प्याराफिट निर्माणको चासो देखाएका हुन्।

फुटबल मैदान र प्यारापिट ‘ग्याल्भनाईज्ड स्टील मोडुलर सिस्टम’को बनाइनेछ। त्यसका लागि भारतसँगै मेलसिया, रसिया र चीनले चासो देखाएका छन्। टेन्डर खरिद गर्ने कम्पनीले दर्शक क्षमता, लागतसहितको प्रस्तावना पेस गर्नुपर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले बताए।

पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा प्याराफिट ‘स्टिल स्ट्रक्चर’मा निर्माण गरिएको छ, जुन सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त हुने इन्जिनियर ताम्राकारको भनाइ छ। ‘आशयपत्रमा कम्पनीले आफ्नो प्रस्तावना पत्रमा सबै खुलाएर पेस गर्नुपर्छ’, उनले भने– ‘कम्पनीबीच प्रतिस्पर्धा गराई दोस्रो पटक टेन्डर आ≈वान गरी छनोट गरिनेछ।’ टेन्डर परेको कम्पनीले नै हाल भइरहेको संरचना भत्काई नयाँ संरचना निर्माण गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ।

प्याराफिट फोल्डिङ सिस्टमको हुन्छ। माथि छत रहनेछ। दर्शक क्षमता २० हजार (१० प्रतिशत तलमाथि हुने) टेन्डरमा उल्लेख छ। प्याराफिटको आयु फलामसँग निर्भर रहने इन्जिनियर ताम्राकारको भनाइ छ। ट्र्याक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सिन्थेटिक बनाइनेछ। एथ्लेटिक्सअन्तर्गतको ११० मिटरको हर्डल्स प्रतिस्पर्धा लागि ट्र्याक निर्माण गरिने टेन्डरमा उल्लेख छ।

फुटबल मैदानसहित प्याराफिट बनाउन राखेपले पहिलो किस्ता स्वरूप १७ करोड रुपियाँ विनियोजन गरिसकेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए। उनका अनुसार ३५ दिनभित्रमा टेन्डर प्रक्रिया पूरा गरी शिलान्यासको प्रक्रिया अगाडि बढाइनेछ। ‘दुई महिनाभित्रमा शिलान्यास गरिसक्नेछौं’, उनले भने– ‘प्याराफिट निर्माण भए साग गेम पोखरामा गर्छौं।’ मैदानसहितको प्याराफिट एवम् एथ्लेटिक्स ट्र्याकका लागि ८५ करोड बजेट लागत अनुमान गरेको छ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलुद प्रतियोगिता पोखरा आयोजना हुँदा फुटबल मैदान, दर्शक प्यारापिट, ब्याडमिन्टन कर्भड हल, मार्शल आर्ट हल निर्माण गरिएको थियो, जुन भूकम्पले जीर्ण बनाइदिएको छ। बहुउद्देश्यीय कर्भड हल (निर्माणाधीन), चारवटा कोर्टसहितको ब्याडमिन्टन कर्भड हल (निर्माणाधीन) भलिबल प्रशिक्षण केन्द्र, पाँच टेनिसकोर्ट, स्केट पार्क, क्रिकेट मैदान तथा आर्चरी मैदानले पोखरा रंगशालाको मुहार फेरिँदै छ।