भारतले वान डे सिरिज बराबरी गर्यो


नयाँ दिल्ली, (एजेन्सी)
भारतले पुणेमा भएको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (वान डे) खेल जितेर न्युजिल्यान्डविरुद्धको तीन खेलको सिरिज १–१ बराबरीमा पुर्याएको छ।

भारतले न्युजिल्यान्डलाई ६ विकेटले हराएर सिरिज बराबरीमा पुर्याएको हो। घरेलु टोलीले न्युजिल्यान्डले छाडेको २ सय ३१ रनको लक्ष्य २४ बल बाँकी राखी चार विकेटको क्षतिमा पूरा गरेको थियो। यसअघि पहिलो वान डेमा न्युजिल्यान्ड ६ विकेटले नै विजयी भएको थियो। तेस्रो तथा अन्तिम वान डे कानपुरमा २९ अक्टोबरमा खेलिनेछ।

भारतको जितमा शिखर धवन र दिनेश कार्तिकले अर्धशतकीय योगदान दिएका थिए। धवनले ६८ रन जोड्दा कार्तिक ६४ रनमा नटआउट रहेका थिए। यस्तै कप्तान विराट कोहलीले २९ रनमा आउट भए भने पूर्वकप्तान महेन्द्र सिंह धोनी १८ रनमा नटआउट रहे।

भारतले २२ रन हुँदा नै पहिलो विकेटको रूपमा रोहित शर्मा (७ रन) लाई गुमाएको थियो। उनलाई टिम साउथीले कोलिन मुन्रोको हातबाट क्याच आउट गराएका थिए। दोस्रो विकेटका रूपमा विराट आउट भए। १३ दशमलव ५ ओभरमा ग्रेन्डहोमको बलमा टम लाथमलाई उनले क्याच थमाएका थिए। धवन र विराटले दोस्रो विकेटका लागि ५७ रन जोडेका थिए।

यस्तै धवन २९ दशमलव २ ओभरमा आउट हुँदा भारत १४५÷३ को स्थितिमा रहेको थियो र जितको लागि अझै ८६ रन आवश्यक थियो। धवनले वान डे करिअरमा २२औं अर्धशतक प्रहार गर्ने क्रममा ५ चौका र २ छक्कासमेत प्रहार गरे।

यसपछि हार्दिक पाण्डेले कार्तिकलाई साथ दिए। दुवैले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेर भारतलाई जित निकट पुर्याएका थिए। हार्दिक ३० रनमा आउट भए पनि धोनी कार्तिकको सहयोगी बन्दा भारतले जित हात पार्यो।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका कार्तिकले सानदार ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। उनले ७६ बलमा ५० रन जोडेर आफ्नो वानडे करिअरमा नवौं अर्धशतक बनाएका थिए। उनको ब्याटिङमा चार चौका सामेल थिए। त्यस्तै धोनीले २१ बलको सामना गरी तीन चौका प्रहार गरेका थिए। उता न्युजिल्यान्डका बलरमा साउथी महँगो साबित भएका थिए। उनले ९ ओभरमा ६० रन खर्चेर एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले संघर्ष गर्दै ९ विकेटको क्षतिमा २ सय ३० रन बनाएको थियो। टोलीले ५८ रनसम्म पुग्दा चार प्रमुख विकेट गुमाइसकेको थियो। लाथम र हेनरी निकोल्सले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरेर टोलीको स्कोर १ सय १८ रनमा पुर्याएका थिए। त्यस्तै निकोल्स र ग्रेन्डहोमले ४७ रन जोडेका थिए।

निकोल्सले ४२ रन, कोलिन डिग्रेन्डहोमले ४१ र लाथमले ३८ रनको योगदान दिए। भारतका बलरमा भुवनेश्वर कुमार सबैभन्दा बढी सफल भए। उनले ४५ रन खर्चेर तीन विकेट लिए। त्यस्तै बुमराह र युजवेन्द्र चहलले दुई–दुई विकेट हात पारेका थिए।