ट्रम्पले अर्को महिना चीन भ्रमण गर्ने, उत्तर कोरियालाई सम्झाउन सीलाई दबाब दिने



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनलगायत केही एसियाली मुलुकको भ्रमण गर्ने भएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पको एसियाली मुलुकको भ्रमण पहिलो हुनेछ।
भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उत्तर कोरियाको मुद्दामा गम्भीर छलफ गर्ने जनाइएको छ। ट्रम्पले उत्तर कोरियालाई सम्झाउन सीलाई दबाब दिने अनुमान गरिएको छ। ट्रम्पले उत्तर कोरियालाई विश्वबाट एक्ल्याउने प्रयास गर्नेछन्।

उत्तर कोरियाको परमाणु हतियार र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उसको र अमेरिकाबीच हालैका महिनामा अत्यन्त तनावको स्थिति रहेको छ।

ट्रम्पले उत्तर कोरियालाई सम्झाउनका लागि चीनमाथि दबाब दिनेह्वाइट हाउसका एक अधिकारीले बताए। तर यो चीनको सहयोग गर्ने रणनीतिअन्तर्गत हुने उनले बताए।

विदेश भ्रमणमा ट्रम्पको प्रमुख उद्देश्य परमाणु तथा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणको मुद्दामा उत्तर कोरियालाई पूर्णरूपमा एक्लो पार्नु रहेको ती अधिकारीले बताए।

ट्रम्पले जिनपिङसँग उत्तर कोरियाविरुद्ध राष्ट्र संघको सबै प्रस्तावलाई पूर्णरूपमा लागू गर्न र उसमाथि दबाब बढाउन अन्य कदम उठाउन पनि आग्रह गर्नेछन्।

चीन उत्तर कोरियाको एक मात्र सहयोगी हो। दुई देशबीच ९० प्रतिशत व्यापार हुने गरेको छ।

यसैबीच चीनले राष्ट्र संघीय सुरक्षा परिषद्को प्रतिबन्धलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। तेल, कोइला, कपडा र समुद्री जीवको आयातमा पूर्ण रोक लागिरहने बेइजिङले बतायो। चीनले उसको समर्थनमा पारित सुरक्षा परिषद्को प्रस्तावलाई लागू गर्नमा कडा नीति अख्तियार गर्न आवश्यक भएकोह्वाइट हाउसका अधिकारीले बताए।

उत्तर कोरिया २००६, २००७, २०१३ र २०१६ मा परमाणु बमको परीक्षण गरिसकेको छ। पछिल्लो यसै वर्षको सेप्टेम्बरमा उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परमाणु बमको परीक्षण गरेको थियो।

त्यसैगरी उत्तर कोरियाले अन्तरमहाद्विपीय क्षेप्यास्त्रको परीक्षण गर्दै अमेरिकी भूमिसम्म प्रहार गर्ने क्षमता प्रदर्शित गरिसकेको छ। यसले उत्तर कोरियाली प्रायद्विपमा लगातार सैन्य तनाब बढ्दै गइरहेको छ।

यसअघि ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई मिसाइल म्यानको संज्ञा दिँदै उत्तर कोरियालाई ध्वस्त पार्नुको विकल्प नभएको चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्