ओभरलोड बोक्ने भारतीय गाडीलाई प्रहरीकै संरक्षण, सडक तथा पुल जिर्ण बन्दै, मारमा यातायात व्यवसायी

0
Shares

यमलाल भुसाल, बुटवल ।
ओभरलोड समान बोकर नेपाल भित्रिने भारतीय गाडीलाई रोक्न यातायात व्यवासायीले माग गरेका छन् । भारतीय ओभरलोड गाडीका कारण व्यवसाय संकटमा परेको र नेपालका सडक तथा पुल पुलेसा जिर्ण बन्दै गरेको भन्दै तत्काल रोक्न व्यवसायीले सरकारसंग माग गरेका छन् ।

प्रचलित कानुनको उलंघन गरेर ओभरलोड सामान बोकेको भन्दै नवलपरासीको तिलकपुरमा भारतीय गाडी तथा ट्रकहरुलाई यातायात व्यवसायीले रोकेका छन् । भारतको राजस्थानबाट मार्वल र टायल बोकेर काठमाण्डौ, नारायणगढ जांदै गरेका भारतीय गाडीहरुलाई कारवाहीको माग गर्दै व्यवसायीले रोकेका हुन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिले तिलकपुरमा राखेको धर्मकांटामा तौलगर्दा ओभरलोड बोकेको पत्ता लागेपछि भारतीय गाडीहरु रोकिएको हो ।
यातायत व्यवसायीले पहिलेदेखि नै ओभरलोड बोक्ने भारतीय गाडी रोक्न माग गर्दै आएका छन् । यातायात तथा ट्रक व्यवसायीले मंगलवार जिल्ला प्रसाशन र वेलहिया सुनौली भन्सार कार्यालयलाई ओभरलोड गाडी नियन्त्रण रोक्न माग गर्दै डेलिकेशन गएका छन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यलाई भारतीय ओभरलोड गाडी तत्काल रोक्न माग गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले ओभरलोड बोक्ने भारतीय गाडीको एक साता भित्र नियन्त्रण गरिने बताउनु भयो ।

नेपाली तथा भारतीय कुनै पनि गाडीले ओभर लोड सामान बोक्न नपाईने उहाँले बताउनुभयो । कानुनको परिधि भित्र रहेर व्यवसाय चलाउनुपर्ने बताउनुभयो ।

ओभरलोड बोक्ने पुरानै रोग भएको बताउंदै निकास निकाल्न जिल्ला प्रसाशन प्रतिवद्व रहेको बताउनुभयो । सुनौली भन्सार कार्यालयका प्रमुख शाक्यले भन्सार कार्यालयले सबै ओभरलोडका गाडीहरु हेर्न सम्भव नहुने बताउनुभयो ।

फेन्सीका साथै पोका समान बोक्ने गाडीहरुको भने ओभरलोड हेरिएको कार्यालय प्रमुख शाक्यले बताउनुभयो । भारतीय ओभरलोड बोक्ने गाडीहरुलाई जनपथ र टृाफिक प्रहरीले नै निर्वाद रुपमा चल्न छुट दिएको व्यवसायीले आरोप लगाउदै आएका छन् । ओभरलोड गाडीहरुलाई सरकारले तत्काल नरोके छठपछि आन्दोलनमा जाने पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनी टृक समितिले चेतावनी दिएका छन ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतम र महासचिव हरिप्रसाद कंडेलले भारतीय ओभरलोड गाडीका कारण व्यवसायीले बैंकको व्याजसमेत चलाउन नसकेको गुनासो गर्नु भयोे । ओभरलोड गाडी सरकारले बन्द नगरे आफुहरुले कूनैपनि सामान नबोक्ने व्यवसायीले बताएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनी टृक समितिले केहिदिन यतादेखि नवलपरासीको तिलकपुर र भैरहवामा भारतीय ओभरलोड गाडिहरुलाई रोक्दै आएका छन् ।

व्यवसायीले आठदेखि १९ टन बढी समान बोकेर काठमाण्डौ, नारायणगढ, पोखरा र नवलपरासी जान हिंडेका भारतीय गाडीलाई व्यवसायीले तिलकपुरमा रोकेका छन् ।

१० चक्केको क्षमता साढे १६ टन, १२ चक्केको २१ टन, छ चक्केको १० टन बोक्ने गाडिको भार क्षमता भएपनि भारतीय गाडीहरुले कम्तीमा १० टन बढी ओभरलोड बोकेर निर्वाद रुपमा गुडीरहदा पनि प्रहरीले रोक्ने प्रयास गर्नुको साटो उल्टै ओभरलोड बोकेका गाडीको पक्षमा ओकालत गर्ने गरेको गुनासो व्यवसायीले गरेका छन् । भारतको राजस्थान, गोरखुरबाट टायल र सिमेण्ड बनाउने कच्चा पदार्थ भारतीय गाडीले ओरलोड बोकेको अवस्थामा भेटिएका छन् ।

भन्सार कार्यालयबाट ओभरलोड भारतीय गाडीहरुलाई २५ किलो मिटिरको दुरीसम्म जान पाउने प्रावधान छ । तर ओभरलोड भारतीय गाडीहरु निर्वाद रुपमा नारायणगढ, पोखरा, काठमाण्डौ लगायतको स्थानमा गैरहेका छन् ।

विशेषगरि टृाफिक प्रहरीले ओभरलोड नियन्त्रण गर्नुको साटो लाईन मिलायर ओभर लोडलाई प्रोत्साहन गर्ने गरेको व्यवसायीहरुको आरोप छ ।