केपी ओलीले दिएको टिकट उनैलाई फिर्ता दिँदै निरज आचार्यले भने– मलाई दुःख दिने काम भयो


दिपेन्द्र शर्मा, जाजरकोट ।

जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) बाट उम्मेदवारी दिएका एमालेका निरज आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्। वाम गठबन्धनको कार्यदलले गरेको भागबण्डाअनुसार नै उम्मेदवारी दर्ता गरेका आचार्यले भागबण्डामा पछि हेरफेर भएपछि उम्मेदवारी फिर्ता लिएका हुन्।

कार्यदलले गरेको भागबण्डाअनुसार जाजरकोटमा प्रतिनिधिसभा सदस्य माओवादी र प्रदेशसभाका दुवै सिट एमालेले लिने तथा हुम्लामा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिट माओवादीले लिने सहमति भएको थियो।

तर, एमाले हुम्लाले आफूहरुले एक सिट पनि नपाए वाम गठबन्धन नमान्ने बताएपछि हुम्लाबाट माओवादीले एमालेलाई प्रदेशको एक सिट छाडेको थियो। त्यसको बदलामा जाजरकोटबाट प्रदेशमा एक सिट माओवादीले पाउने गरी सहमति भएको थियो। सोही सहमति पालना गर्न केन्द्रले निर्देशन दिएपछि एमालेका आधिकारिक उम्मेदवार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन्।

अब जाजरकोट (क) मा माओवादीका गणेशप्रसाद सिंह वाम गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।

उम्मेदवारी फिर्ता लिन बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आचार्यले वाम गठबन्धन बचाउन आफू फिर्ता भएको बताए। साथै उनले पार्टीले निर्णय बदल्दा आफू समस्यामा परेको गुनासोसमेत गरे। ‘पार्टी अध्यक्ष केपी ओलीले नै हस्ताक्षर गरेर टिकट दिएपछि मनोनयन गरेँ, अहिले उहाँले नै भनेपछि फिर्ता भएँ,’ आचार्यले भने, ‘मलाई दुःख दिने काम भयो, स्थायी समितिले यस्तो निर्णय पहिले नै गर्नुपर्थ्यो।’ उनले अध्यक्ष ओलीको नासो ओलीलाई नै फिर्ता गरेको समेत बताए। आचार्यले प्रतिनिधिसभामा बागी (स्वतन्त्र) उम्मेदवारी दर्ता गराएका पार्टी नेता गोविन्दविक्रम शाहलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

आचार्य एमालेको श्रम तथा रोजगार विभागका केन्द्रीय सचिव हुन्। प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट पूर्व गृहमन्त्रीसमेत रहेका माओवादी नेता शक्ति बस्नेत चुनावी मैदानमा छन्। उम्मेदवारी फिर्ता लिन शाहले राष्ट्रियसभा सदस्य वा प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिक तर्फ आफ्नो स्थान सुरक्षित गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ। शाह केही वर्षअघि राप्रपाबाट एमालेमा प्रवेश गरेका थिए।