कालीगण्डकीमा स्टिमर सेवा सुचारुकालीगण्डकीमा स्टिमर सेवा सुचारु

0
Shares

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जलयातायात ९स्टिमर सेवा० सुचारु भएको छ।

नदीमा पानीको बहाव घट्दै गएकाले सोमबारदेखि स्टिमर सेवा सुचारु गरिएको हो। वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि ठप्प पारिएको स्टिमर सेवा सोमबारदेखि सञ्चालनमा ल्याइएको बिहादी गाउँपालिका–६ शालिग्रामकी सचिव सुनकुमारी भट्टराईले जानकारी दिइन्।

जलयातायात सेवा सुचारु भएपछि पर्वत, स्याङ्जा र गुल्मीका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट लाभान्वित बनेका छन्। खासगरी चाडबाड मनाउन गाउँ आएका नागरिकलाई फर्कन सहज भएको छ।

विगत १७ वर्षदेखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि दर्जनौँ गाउँका बासिन्दा यातायातको सुविधा लिदै आएका छन्। वर्षात्को समयमा दुर्घटना बढ्ने खतराका कारण तीन महिना सो सेवा अवरुद्ध हुने गरेको छ।

विहादी गाउँपालिका–६ शालिग्रामदेखि स्याङ्जाको मिर्मिसम्म करिब सात किलोमिटरको दुरीमा जलयातायात सञ्चालनमा आएपछि गुल्मी, स्याङजा र दक्षिण बागलुङका बासिन्दालाई यात्रा गर्न सहज भएको छ।

वर्षायाममा तीन महिना सास्ती खेप्नु परेको व्यवसायी विष्णु न्यौपानेले बताए। पानीको सतह घटेपछि मात्र स्टिमर सेवा सञ्चालनमा आएको हो। अहिले नियमित ११ वटा स्टिमरबाट यस क्षेत्रका बासिन्दा ओहोरदोहोर गर्दै आएका छन्। यस क्षेत्रका बासिन्दाको चार घण्टाको यात्रा आधा घण्टामै गर्न सहज भएको छ।

स्टिमर व्यवसायी हरिप्रसाद भट्टराईकाअनुसार यातायात अवरुद्ध हुँदा दैनिक आधाघण्टामा सकिने यात्रा चार घण्टाको पैदलयात्रा हिँडेर स्याङजाको मिर्मिसम्म पुग्न यहाँका बासिन्दा बाध्य बनेका थिए। उक्त जलायशयमा स्टिमर सेवा सुचारु भएपछि यहाँका बासिन्दाले हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका छन्। विसं २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न सहज भएको भट्टराईले बताए।

स्टिमरबाट दैनिक एक हजारभन्दा बढिले नदी ओहोरदोहोर गर्ने गरेका छन्। कालीगण्डकी जल यातायात समितिमार्फत दैनिक ११ वटा स्टिमर सञ्चालनमा छन्। एउटा स्टिमरमा एकसयदेखि १५० जनासम्म यात्रु एकैपटक ओहोरदोहोर गर्न मिल्छ। सेतीवेणीबाट जलयात्रा शुरु गरी मिर्मिमा पुगेर बसमार्फत यस क्षेत्रका बासिन्दा गन्तव्यमा पुग्ने गरेका छन्।

विश्वकै ठूलो शालिग्राम शीलासमेत सोही स्थानमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकसमेत स्टिमर चढेर यहाँ आउने गरेका छन्। रासस