नरेन्द्र केसी, घोराही, दाङ
उम्मेदवारी दर्ताको समय सकिन एक घण्टामात्र बाँकी रहँदा दुवै उम्मेदवार दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरे। सामान्य शिष्टाचारपछि दुवै जनाले अंकमाल गरेर भने– ‘यो हाम्रो तेस्रो प्रतिस्पर्धा हो।’
२०४८ सालको आम निर्वाचनमा पहिलोपटक तत्कालीन संयुक्त जनमोर्चा (माओवादी बन्नुअघिको पार्टी) को तर्फबाट जनार्दन शर्मा र नेपाली कांग्रेसको तर्फबाट गोपालजीजङ शाह चुनाव लडेका थिए। त्यतिबेला कांग्रेसका उम्मेदवार शाह १ हजार ३ सय मतान्तरमा विजयी हुनुभयो। लगत्तै संयुक्त जनमोर्चा माओवादी बन्यो र जनयुद्धमा होमियो। शाहबाट पराजित शर्मा पनि जनयुद्धका कमान्डर बन्नुभयो। जनयुद्धपछि रुकुममा माओवादी शक्तिशाली पार्टी मात्र बनेनन्, शर्मा प्रभावशाली नेता बनेर उदाउनुभयो।
२०६४ सालको निर्वाचनमा रुकुमको क्षेत्रबाट नम्बर २ बाट शर्मा भारी मतसहित विजयी भए तर प्रतिस्पर्धी शाह थिएनन्। २०६४ सालपछि रुकुम २ बाट विजयी भएका शर्मा शान्तिमन्त्री बन्नुभयो। शान्ति मन्त्रालयले द्वन्द्व प्रभावित क्षेत्रमा विकास निर्माणमा समेत लगानी गर्ने गरेकाले त्यसबाट रुकुमले ठूलो लाभ लिन पायो। शर्माको निर्वाचन क्षेत्रमा त विकास हुने नै भयो, क्षेत्र नम्बर १ मासमेत हेलिकोप्टरबाट डोजर लगेर त्यतिबेला धमाधम सडक निर्माण गरियो।
फेरि २०७० सालको चुनावमा रुकुम २ मा माओवादीबाट शर्मा नै अघि सर्नुभयो भने कांग्रेसबाट २०४८ सालकै प्रतिस्पर्धी शाह प्रतिस्पर्धामा आउनुभयो। यो निर्वाचन शर्माका लागि शाहसँग बदला लिने अवसर बन्यो। २२ वर्षअघि १ हजार ३ सय मतले पराजित शर्माले साढे १२ हजार मतान्तरमा शाहलाई पराजित गर्नुभयो। यही कार्यकालमा शर्मा ऊर्जामन्त्री भएर लोडसेडिङ अन्त्य गरेर चर्चामा आउनुभयो भने गृहमन्त्री पनि बन्नुभयो। शाह पनि एकपटक उद्योग राज्यमन्त्री बनिसक्नुभएको छ।
अब मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्यमा उनै शर्मा र शाहबीच तेस्रो प्रतिस्पर्धा हुँदै छ। उम्मेदवारी दर्ताका क्रममा कांग्रेस उम्मेदवार शाहले भन्नुभयो– ‘एकपटक भाइ (शर्मा) ले जित्नुभयो, एकपटक मैले जितें, यो हामी दुवैका लागि फाइनल गेम हो।’ ठट्यौली पारामा जवाफ दिँदै शर्माले भन्नुभयो– ‘दाइसित पनि मेरो केको प्रतिस्पर्धा, दाइले आशिर्वाद दिने हो, भाइले चुनाव जित्ने हो।’
२०४८ सालमा रुकुमको क्षेत्र नम्बर १ मा संयुक्त जनमोर्चाका खड्कबहादुर बुढाले चुनाव जिते पनि रुकुम २ मा भने कांग्रेसका शाहले जित्नुभएको थियो। माओवादी जनयुद्ध शुरू हुँदाभन्दा पहिले यो क्षेत्र कांग्रेस बाहुल्य क्षेत्रको रूपमा चिनिन्थ्यो तर माओवादी जनयुद्धपछि रुकुमका दुवै क्षेत्र माओवादी प्रभावित क्षेत्रको रूपमा उदाएका थिए।











प्रतिक्रिया