स्वीकृतिबिनै नख्खुमा क्रसर उद्योग

0
Shares

 

सुरेश तामाङ

लितपुर महानगरपालिकाको चुनिखेलको भू–भागमा पर्ने नख्खु खोलाको किनारमै स्थायीरूपमै नयाँ मेसिन जडान गरी स्वीकृतिबिनै क्रसर उद्योग सञ्चालन भएको पाइएको छ।

उद्योगीले नख्खु खोलासँग जोडिएको करिब ६ रोपनी जग्गा भाडामा लिएर क्रसर उद्योग सञ्चालन गरेका हुन्।

उक्त उद्योगमार्फत उद्योगीले नख्खु खोलाबाट खोलाजन्य निर्माण सामग्रीको दोहन गरी धमाधम निकासीसमेत गरिरहेका छन् भने खोलाजन्य सामग्रीको दिनरात दोहन भएपछि यसबारेमा प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि कुनै कारबाही नभएको स्थानीयले बताए।

नख्खु खोला किनारमा सञ्चालन गरिएको क्रसर उद्योगबारेमा छानविन गरी कारबाही गर्न ठेकेदारलाई प्रहरीमार्फत प्रशासनमा झिकाउनुपर्ने स्थानीयबासीले माग गरेका छन्।

क्रसर उद्योग सञ्चालनका लागि हालसम्म आधिकारिक जानकारी नआएको घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले जनाएको छ। साना उद्योग कार्यालय ललितपुरकी प्रमुख रोशनीकुमारी श्रेष्ठले नख्खु खोला किनारमा बिनास्वीकृति क्रसर सञ्चालन गरेको नदेखिएको दाबी गर्नुभयो।

उहाँले बिनाअनुमति उद्योग सञ्चालन गरेको पाइएमा कारबाहीका लागि प्रशासनलाई पत्र लेख्ने बताउनुभयो। ‘२०७३ असार मसान्तदेखि कुनै पनि क्रसर उद्योगको नवीकरण भएको छैन’ –उहाँले भन्नुभयो।
२०७१ को मापदण्डअनुसार क्रसर उद्योग सञ्चालन गर्न राजमार्गबाट कम्तीमा ५ सय मिटर, नदी–खोलाबाट कम्तीमा ५ सय मिटर, विद्युत् हाइटेन्सन लाइनबाट १ सय मिटर, वन, धार्मिक क्षेत्र, सुरक्षा निकाय, शिक्षण संघ–संस्था, मानवबस्ती, स्वास्थ्य संस्थाबाट दुई किलोमिटर टाढा रहनुपर्ने मापदण्ड छ। उक्त मापदण्डभित्र जिल्लाका सबै २७ वटा क्रसर उद्योग पर्दैनन्।

त्यस्तै उद्योग हाताभित्र उद्योगको नाम, ठेगाना प्रस्ट देखिने गरी साइनबोर्डसमेत राखिएको पाइँदैन। उद्योगीले उद्योग सञ्चालन गरेपछि उद्योगको नाम, ठेगाना प्रस्ट देखिने गरी उद्योग हाताभित्र साइनबोर्ड राख्नुपर्ने प्रावधान छ।

भूकम्पपछि सरकारले बजेट भाषणमार्फत एक वर्षका लागि २०७३ असार मसान्तसम्म मापदण्डविपरीत भए पनि उद्योग नवीकरण गर्न निर्देशन दिएको थियो। त्यसयता कुनै अनुमति दिइएको छैन। जिल्लाको टीकाभैरव, नल्लुखोला, लेलेमा उद्योगहरू निर्वाधरूपमा सञ्चालनमा छन्।

अवैधरूपमा क्रसर सञ्चालन हुँदा लाखौं रुपियाँ राजस्वसमेत छली भएको छ। प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले नख्खु खोला किनारामा क्रसर उद्योग सञ्चालन भएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो।

उहाँले जिल्लामा युनाइटेड सिमेन्टको ढुंगाखानी उद्योगबाहेक अरू खानी तथा क्रसरजन्य उद्योग सञ्चालनमा नरहेको बताउनुभयो।