मौसमी सूचना अब श्रव्यदृश्यमा


टीका बन्धन, काठमाडौं
मुलुकको जल तथा मौसमी सूचना अब श्रव्यदृश्य माध्यममार्फत सार्वजनिक हुने भएको छ। हरेक दिन र प्रत्येक घण्टाको मौसमी सूचनासहित ३ दिन पछिसम्मको मौसमी भविष्यवाणी श्रव्यदृश्य रूपमा उपलब्ध गराउने तयारी गरिएको हो।

जल तथा मौसम विज्ञान विभागले ‘हाई पावर कम्प्युटिङ टेक्नोलोजी’ (एचपीसीटी) मार्फत युरोपेली मुलुक सो सरहको मौसमी सूचना सम्प्रेषण गर्ने तयारी अघि बढाएको हो। वायुमण्डलको जलवाष्पयुक्त हावाको मात्रा, वर्षा हुनुअघि र पछिको सूचना साथै तापक्रम, वायुको वेग एवं दिशा, बादलको अवस्था, सापेक्षित आद्र्रतालगायतको श्रव्यदृश्य सूचना तयार गरिने विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिनुभयो।

‘विभागको सेवालाई उच्चतम र थप विश्वसनीय बनाउन युरोपेली मुलुकहरूले अभ्यास गरेका जस्तै अत्याधुनिक श्रव्यदृश्य सेवा उपलब्ध गराउने तयारी अघि बढाएका हौं।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

प्रारम्भिक चरणमा ३ दिनअघि र केही वर्षभित्रैमा ५ दिन पछिसम्मको जल तथा मौसमी सूचना सम्प्रेषण गर्ने योजना अघि बढाइएको शर्माले बताउनुभयो। शर्माले प्रस्टइउँदै भन्नुभयो– ‘हरेक दिनको जल तथा मौसमी सूचनाका अतिरिक्त भूकम्पबाहेकका अधिकांश मौसमजन्य प्रकोपको पूर्वसूचनालाई सम्प्रेषण गर्ने लक्ष्य हो।’

विभागले हाल वेबसाइटमार्फत लिखितरूपमा मौसमी सूचना उपलब्ध गराउँदै आएको छ। सो निकायका सिनियर डिभिजनल इन्जिनियर सुदीप भट्टराईका अनुसार बबरमहलमा निर्माणाधीन आफ्नै अत्याधुनिक भवनमार्फत विभागले आगामी डेढ वर्षपछि यस्तो सेवा शुरू गर्ने तयारी अघि बढाएको हो। यसै प्रयोजनका लागि ग्लोबल टेन्डर आह्वान गर्ने तयारी भइरहेको बताइएको छ। विश्व बैंकको करिब ३४ करोडको लागतमा निर्माण भइरहेको भवनमा अत्याधुनिक उपकरणसहितको टीभी स्टुडियोसमेत तयार हुनेछ।

तर यस प्रयोजनका लागि छुट्टै टेलिभिजन च्यानल भने स्थापना नहुने विभागका महानिर्देशक डा. शर्माले जानकारी दिनुभयो। ‘हामीले श्रव्यदृश्यरूपमा मौसमी सूचना तयार गर्नेछौं, सञ्चार माध्यम र अन्य सरोकारवाला निकायहरूले आफ्नै शैली र ढाँचामा सूचना प्रयोग गर्न सक्नेछन्।’ –उहाँले भन्नुभयो। हाल विभाग मातहतका मौसमी केन्द्रको सूचनालाई स्याटेलाइटमार्फत एकीकृत गरेर श्रव्यदृश्य रूपमा तयार पारिने शर्माले बताउनुभयो।

विभाग मातहत हाल ८८ सतही मौसमी केन्द्र, ७० जल सतह केन्द्र, ९ वटा चटइङ अनुगमन केन्द्र सञ्चालनमा छन् भने बेलुनमार्फत वायुमण्डलको मौसमी गतिविधि नियाल्ने तीनटा ‘रेडियोसोण्ड स्टेसन’ स्थापनाको प्रक्रियामा छन्।

त्यसैगरी सतही मौसमी सूचनालाई थप प्रभावकारी बनाउन तीनवटा मौसमी राडार केन्द्र स्थापनाको प्रक्रिया अघि बढेको छ। काठमाडौं, विराटनगर र सुर्खेतमा रेडियोसोण्ड स्टेसन र पाल्पा, उदयपुर र सुर्खेतमा मौसमी राडार केन्द्र स्थापना हुने विभागले जनाएको छ।