१ लाख ८० हजार घर पुनर्निर्माण

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं,
निजी आवास पुनर्निर्माणतर्फ पछिल्लो ९ महिनामा बन्दै गरेका र बनिसकेका घरको संख्या १ लाख ८० हजार भन्दा बढीले बृद्धि भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आईतबार सार्वजनिक गरेको पुनरावलोकन प्रतिवेदन अनुसार सो अवधिमा १ लाख ३० हजार २ सय ७३ घर निर्माणाधीन अवस्थामा छन् भने ५० हजार २ सय १७ घर बनिसकेका छन्।

गत वर्ष मसान्तसम्ममा निर्माणाधीन घरको संख्या १७ हजार ९९ थियो भने निर्माण सम्पन्न भइसकेका घरको संख्या ११ हजार ८ सय ७१ रहेको थियो। प्राधिकरणको निर्देशक समितिको वैठक अनुसार निजी आवास अनुदानका लागि समयसीमा निर्धारण गरिएकाले पनि घर बनाउनेको संख्या पछिल्लो समय उल्लेख्य बृद्धि भएको हो। प्राधिकरणले यसबीचमा विभिन्न निकायबाट प्राप्त भएका २ लाख ५ हजार बढी गुनासोलाई फछ्यौट गरी ४० हजार ९ सय ६७ घरधुरीलाई लाभग्राहीमा समावेश गरिएको, पुनर्निर्माण तथा अनुदान बितरणसम्बन्धी विगतका अव्यावहारिक प्रावधान र मापदण्डलाई व्यवहारिक बनाउन कार्यविधि संशोधन गरिएकाले पनि निजी आवास पुनर्निर्माणले तुलनात्मक रूपमा गति लिएको प्राधिकरणको बिश्लेषण छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले समग्र पुनर्निर्माणको अवस्थालाई हेर्दा केही ढिलाई भएजस्तो देखिएपनि पछिल्लो ९ महिनाको बढ्दो अनुपातलाई हेर्दा निराश हुने अवस्था नरहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘इन्डोनेशियामा पुनर्निर्माण शुरू भएदेखि स्थायी संरचनामा निर्माण सम्पन्न हुन ८ बर्ष र पाकिस्तानमा ५ बर्ष लागेको उदाहरण छ। भारतको गुजरातसँग तुलना गर्दा हामी केही ढिलो पक्कै भएका छौँ। तर स्रोत साधनको उपलव्धता र सरोकारवाला निकायबीच समन्वय भए तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न हुन्छ।’

प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सबै लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि आगामी असार मसान्तसम्म सवै किस्ता लिइसक्नुपर्ने नयाँ व्यवस्था पनि लागू गरेको छ। यस्तै मापदण्ड अनुसार नबनेका घरहरूलाई मापदण्ड पुर्याई अनुदान लिनका लागि अपवाद तथा सुधार पुस्तिका तयार गरी प्राविधिकहरूलाई तालिम दिई समस्या समाधान गर्न जिल्ला पठाइएकोले पनि थप अनुदानबाट बञ्चित भएका धेरै लाभग्राहीले दोस्रो र तेस्रो किस्ताको रकम पाएका छन्। हालै मात्र प्राधिकरणको प्रस्ताव बमोजिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा बन्दै गरेको घर समेत धितो राखेर ३ लाख रूपैया निव्र्याजी ऋण दिने व्यवस्थाले पनि पुनर्निर्माणलाई थप गति दिने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्तसम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझिसकेका छन््। १ लाख ६ हजार बढी लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएको र करिब ९७ हजार लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ।

चाडपर्वका कारण इन्जिनियरहरू फिल्डमा नभएको र कतिपय ठाँउमा प्राविधिक जनशक्ति अपुग भएकाले एमआईएस प्रणालीमा तथ्याङ्कहरू समावेश हुन नसकेको प्राधिकरणका इन्जिनियर प्रवीण आचार्यले बताउनुभयो। बनिसकेका र बन्दै गरेका घरको तथ्याङ्क एमआइएस प्रणालीमा अद्यावधिक शुरू भए यो संख्या थप बढ्ने तथा आगानी पौष मसान्तसम्म ३ लाख ५० हजारसम्म पुग्ने अनुमान रहेको आचार्यले बताउनुभयो।

९ महिना अघि २ सय शैक्षिक संस्था निर्माण सम्पन्न भएकोमा हाल यो संख्या २४ सय ५६ पुगेको छ। शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त ८ हजार ९ सय २३ शैक्षिक संस्था मध्ये अहिलेसम्म ४ हजार ३ सय ८१ शैक्षिक संस्था निर्माणाधीन र निर्माण सम्पन्नको अवस्थामा पुगेको बताउनुभयो। यसैगरी स्वास्थ्य संस्था, सरकारी भवन र खानेपानी पुर्वाधार लगायतको क्षेत्रले पनि पछिल्लो ९ महिनामा गति लिएको छ।