कीर्तिमानी बेगको गाडी तयार


 

लन्डन, (एजेन्सी)
विश्वको सबैभन्दा तीव्र गतिको गाडी ब्लडहाउन्ड सुपरसोनिकको गति १ हजार ६ सय किलोमिटर प्रतिघन्टा हुने अनुमान गरिएको छ। बेलायती इन्जिनियरहरूको टोलीले यो गाडीलाई चाँडै नै सडकमा उतार्ने तयारी गरिरहेका छन्। विश्वकै सबैभन्दा तीव्र्र बेगको गाडी बनाउने व्यक्तिको उमेर ८५ वर्ष हो।

रेन एैयर्स एक रकेट वैज्ञानिक हुन्। उनले नै ब्लडहाउन्ड सुपरसोनिक कारको डिजाइन तयार गरेका हुन्। यसलाई तयार गर्नमा रेनले ३ वर्ष लगाएका थिए। रेनले भने– ‘मलाई सिमा तोड्न मनपर्छ। मेरो उमेरका कुनै व्यक्तिलाई आमरूपमा यस्तो अवसर प्राप्त हुँदैन।’

रेनलाई बाल्यकालदेखि नै एरोडायनामिक्स र इन्जिनियरिङमा चाख थियो। उनी भन्छन्– ‘म प्रायः स्पिटफायर र हरिक्यान फाइटर प्लेन आकासमा उडिरहेको हेर्थें। त्यसलाई हेरेपछि कसैलाई पनि इन्जिनियरिङ र बेगमा चाख बढ्नु स्वाभाविक हो।

यति ठूलो कीर्तिमानसँगै जमिनमा गाडी चलाउनुमा अनियन्त्रित हुने डर रहिरहन्छ। सन् १९९६ मा एक अमेरिकी चालक ब्रिडलवले ६ सय ७० माइल प्रतिघण्टाको बेगमा गाडी चलाउँदा गाडीमाथिको नियन्त्रण गुमाएका थिए।

अहिलेको सर्वाधिक स्पिडको रिकर्ड १ हजार २ सय २८ किलोमिटर प्रतिघण्टा छ। ब्लडहाउन्डले दुई चरणमा १ हजार २ सय ४७ किलोमिटर प्रतिघण्टा र १ हजार ६ सय ९ किलोमिटर प्रतिघण्टाको बेग समाउने अपेक्षा गरिएको छ।