बाजुरामा पाँच दलको उम्मेदवारी, प्रदेशसभाका लागि एक जना स्वतन्त्र उम्मेदवार

0
Shares

दयाराम पण्डित, बाजुरा
आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा भाग लिन प्रतिनिधिसभा (संघ) तथा प्रदेशसभाका लागि बाजुरामा ५ दलका उम्मेदवारले आइतबार दिउँसो जिल्ला निर्वाचन अधिकृतको कार्यालय मार्तडीमा मनोनयन पत्र दर्ता गराएका छन्।

यसरी मनोनयन पत्र दर्ता गराउनेमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कविराज पण्डित, प्रदेश क्षेत्र नं १ बाट जनकराज गिरी र प्रदेश क्षेत्र नं २ बाट पदमबहादुर शाही छन्। त्यसै गरी नेकपा एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लालबहादुर थापा, प्रदेश नं १ क्षेत्रका लागि बलदेव रेग्मी, प्रदेश नं २ बाट प्रकाश शाहको उम्मेदवारी परेको निर्वाचन कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभएको छ।

त्यसै गरी राप्रपा प्रजातान्त्रिकबाट प्रदेश क्षेत्र नं १ बाट कान्तबहादुर शाही र प्रदेश नं २ मा बीबहादुर हमालको उममेदवारी परेको छ। एकीकृत राष्ट्रवादी प्रजातन्त्रवादीका प्रकाश विकले प्रदेश क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् भने नयाँ शक्तिबाट प्रतिनिधिसभाका लागि दिलीप शाही प्रदेश क्षेत्र नं १ का लागि नरेन्द्र विक छन् भने प्रदेश नं २ बाट सुर्जे चदारको उम्मेदवारी परेको सूचना अधिकारी जोशीले जानकारी दिनुभएको छ।

प्रदेश नं १ को सभासदका लागि टीकाराज गिरीको स्वतन्त्र उम्मेदवारी परेको बताइएको छ।

बाजुरामा जे जति दलले उम्मेदवारी दिए तापनि नेपाली कांग्रेस र नेकपा एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ। जिल्लाको तेस्रो शक्ति मानिने नेकपा माओवादी केन्द्रलाई भने प्रत्यक्षतर्फ एमाले गठबन्धनले भाग दिएको छैन। नेपाली कांग्रेसले चुनावी घोषणासभा खुलामञ्चमा गरेको थियो भने नेकपा एमालेले सदरमुकाम मार्तडीको खेलकुदमा गरेको थियो। कांगे्रसको सभालाई केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले गर्नुभएको थियो भने एमालेको चुनावीसभाको सम्बोधन वैकल्पिक पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले गर्नुभएको थियो।

यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवानेता बद्रीप्रसाद पाण्डेले कम्युनिस्टको कथित् साम्यवादको अन्धकारबाट हट्न नेपाली कांग्रेसको रुख चिह्नमा मतदान गर्न आग्रह गर्नुभएको छ। सदरमुकाम मार्तडीमा आइतबार आयोजित चुनावी घोषणासभालाई सम्बोधन गर्दै नेता पाण्डेले उक्त अभिव्यक्ति दिनुभएको हो। वर्तमान वाम एकता कुनै समृद्धिको एजेन्डा नभई आफू कसरी सुरक्षित हुने भन्ने प्रपोगण्डा मात्र भएको आरोप लगाउनुभएको छ।

‘वामहरू बेलाबेलामा फुटेका छन्, वाम फुट्ने जुट्नेमा भारतलाई विस्तारवादी भन्नेकी नभन्ने? नेपाली कांगे्रसलाई यथास्थितिवादी भन्ने वा लोकतन्त्रवादी भन्ने ?’ यिनै झिना कुराले वामहरू फुटेको बताउनुभयो। जल, जडिबुटी र जंगललगायत हामीसँग पर्याप्त सम्भावना भएकाले बाजुराको समृद्धि नै कांग्रेसको नारा हुने नेता पाण्डेको भनाइ थियो।

मल्ल के सुन्दरको उपन्यास लोकार्पण
काठमाडौं (नेस)
आदिवासी जनजाति आन्दोलनका अगुवासमेत रहनुभएका साहित्यकार मल्ल के सुन्दरको शंखधर नामक उपन्यास लोकार्पण गरिएको छ।
नेवाः जागरण मञ्चले प्रकाशन गरेको सो उपन्यास एक समारोका बीच शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले लोकार्पण गर्नुभयो। सो उपन्यासमा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा र नेपाल संवत् चलाइएको बारे पुस्तकमा उतारिएको छ।

‘यो कृति ऐतिहासिक दस्तावेज होइन। शंखधर साख्वाले नेपाल संवत् चलाउँदाको अवस्थाबारे अहिलेसम्म उपलब्ध ऐतिहासिक तथ्यलाई अध्ययन गरेर लेखिएको हो। यो परिकल्पनामा आधारित आख्यात्मक कृति हो’, –साहित्यकार मल्लले भन्नुभयो।

सो अवसरमा नेपाल भाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपाली, जनकवि दुर्गालाल श्रेष्ठ र नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन अग्रणी भूमिका निर्वाह गर्नुभएका पद्मरत्न तुलाधर र नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्यलगायतले बोल्नुभएको थियो।
एक महिनाअघि मल्लको संसदीय व्यवस्थाको विकृतिबारे केन्द्रित ‘द पोस्टर नामक’ उपन्यास प्रकाशित भएको थियो।