रिस पोखे बाढीपीडितले, राहतमा मनोमानी गरेको भन्दै सिडियो र एसपीको गाडीमा ढुंगा प्रहार


नेपाल समाचारपत्र,रौतहट ।

आफ्ना मान्छेलाई मात्रै स्थानीय तहका अधिकारीहरुले बाढी तथा डुबान पीडितको सूचिमा राखि राहत वितरण गरेको भन्दै देबाही बोनाही नगरपालिकाका पीडितले रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको गाडीमा तोडफोड गरेका छन् ।

देबाही बोनाही नगरपालिकाका कार्यकारी अधिकृत मनोज झाले सम्बन्धित वडाका सचिवको सिफारिशमा वाढीपीडितलाई राहत वितरण गर्नै लाग्दा आक्रोशित स्थानीय तोडफोडमा उत्रिएका हुन् । पीडितहरुले सचिवले आफ्ना मान्छेलाई मात्रै सिफारिश गरेका र वास्तविक पीडितलाई छुटाएको भन्दै विहानैदेखि नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

बिबाद मिलाउन पुगेका प्रजिअ उद्धव बहादुर थापा र नेपाल प्रहरीका एसपी यज्ञ विनोद पोखरेल तथा सशस्त्रका एसपी प्रमराज पोखरेलको गाडीमा पीडितले ढुंगा प्रहार गरेका हुन् । उनीहरुको पार्किङ गरेर राखिएको गाडीमा पीडितले ढुंगा प्रहार गर्दै तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीका सिसाहरु पनि फुटेको बताइएको छ ।