चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमा: उपप्रधानमन्त्री थापा

0
Shares

काठमाडौँ, उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताउनुभएको छ ।

ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको बताउनुभयो ।

“त्यसबेला पनि मधेसवादी दलले सरकार छोडेपछि अल्पमतमा परी चुनाव नहुने वातावरण बनेको थियो, हामी सरकारमा गएर चुनावको माहोल बनायौँ, अहिले पनि सरकारको साझेदार दल माओवादी प्रतिपक्षी गठबन्धनमा मिसिएपछि चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन सरकारमा सहभागी भएका हौँ”–पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उपप्रधानमन्त्री थापाले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम तोकिएकै समयमा चुनाव हुने प्रतिबद्धता आफूसँग पटक पटकको भेटमा जनाउनुभएको बताउँदै “प्रधानमन्त्री देउवाको जानकारीमा चुनाव नगराउने षड्यन्त्र भइरहेको सूचना आएपछि उहाँकै आग्रहमा चुनावको वातावरण नबिगार्न आफ्नो दल सरकारमा सहभागी भएको हो,” भन्नुभयो ।

चुनावसम्म अहिलेकै कार्ययोजना अघि बढाउने, नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा विद्युत् भार कटौती (लोडसेडिङ) हुन नदिने, हाल सञ्चालित आयोजनालाई निरन्तरता दिनेलगायत योजनाका वारेमा जानकारी दिदैं उपप्रधानमन्त्री थापाले अन्य दलले जस्तोसुकै गठबन्धन गरेर सरकारमा गए पनि चर्चा नहुने तर राप्रपा सरकारमा जाने वित्तिकै विभिन्न खाले हल्ला चलाइने गरेको बताउनुभयो ।

विसं २०६२÷६३ को परिवर्तनपछि राप्रपा तेस्रोपटक सरकारमा सहभागी भएको छ । बाम गठबन्धपछि प्रजातान्त्रिक शक्तिका बीचमा सहकार्य र एकता अनिवार्य बन्न गएको पनि उहाँले बताउनुभयो ।
रासस