गाउँ–गाउँमा क्लिनिक र आँखा केन्द्र, वार्षिक ५० हजार आँखा रोगीलाई सेवा


 

नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडामा आँखा अस्पतालले सेवा शुरू गरेपश्चात् मकवानपुरलगायत वरपरका क्षेत्रका बिरामीलाई आँखा उपचारमा धेरै राहत मिलेको छ। हेटौंडा समुदायिक आँखा अस्पताल देशकै नमुना स्वास्थ्य संस्थाका रूपमा स्थापित छ।

सोही अस्पतालले ‘सबैका लागि आँखा स्वास्थ्य, दृष्टिको महत्त्व बुझौं, विश्व दृष्टि दिवस मनाऔं’ भन्दै बिहीबार विश्व दृष्टि दिवस मनाएको छ। अस्पतालले जनप्रतिनिधि, सरकारी, गैरसरकारी, संघ–संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गरी दिवस मनाएको हो।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अस्पतालकी नेत्र रोग विशेषज्ञ मलिता अमात्यले ओपीडी, इमर्जेन्सी र सर्जरी जस्ता सेवा बिरामीलाई प्रवाह गरिरहेको बताइन्। उनले मनहरी, छतिवन, पालुङमा सेटेलाइट क्लिनिक सञ्चालनमा रहेको बताउँदै पालुङ सेटेलाइट क्लिनिकलाई सामुदायिक आँखा केन्द्रका रूपमा विकास गरिने र बागमती गाउँपालिकाको फापरबारीमा सेटेलाइट क्लिनिक स्थापना गरी सेवा दिने तयारी भइरहेको बताइन्।

आधुनिक स्वास्थ्य विज्ञानले आँखाजस्तो संवेदनशील र महत्त्वपूर्ण मानव अंगको उपचारलाई सहज बनाउँदै लगेको छ। आँखा स्वास्थ्यको संवेदनशीलताअनुसार सरकारले आँखा स्वास्थ्य सेवामा उल्लेख्य सुधार गर्न नसके पनि समुदायको अग्रसरतामा हेटौंडामा उदाहरणीयरूपमा हेटौंडा सामुदायिक आँखा अस्पतालले वार्षिक ५० हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।