बेलायती दम्पतीको सराहनीय कार्य, छोराको सम्झनामा आवासगृह निर्माण

0
Shares

 

सलिम अन्सारी, प्यूठान
‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन’ समाजमा प्रायः यस्ता भनाइ सुन्ने गरिन्छ। तर, बेलायतका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी प्यूठानमा आवासगृह निर्माण गरिदिएका छन्। आफ्नो दिवंगत छोराको सम्झनामा बेलायती नागरिक जिम र मेरिलिन साइमन दम्पतीले २ करोड रुपियाँ आवासगृह निर्माणमा लगानी गरेका हुन्। निक साइमन इन्स्टिच्युटले प्यूठानको जिल्ला अस्पताललाई आवासगृह हस्तान्तरण गरेको हो।

जिम दम्पतीले मंगलबार एक कार्यक्रमका बीच जिल्ला स्वास्थ्य कार्यालय व्यावस्थापन समितिका अध्यक्ष मेघराज पुरीलाई उक्त आवासगृहको साँचो संयुक्तरूपमा हस्तान्तरण गरे। सो अवसरमा आफ्ना छोरा निक साइमनको सम्झनामा नेपालका विभिन्न स्थानका स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको इन्स्टिच्युटका संस्थापक जिमले बताए। ‘स्वास्थ्य सेवाबाट वञ्चित समुदायका लागि सहयोग गर्दै आएका छौं’, जिमले भने– ‘छोराको सम्झनामा भवन निर्माण गरेका हौं।’ नेपालमा कार्यरत रहेकै बखत आफ्नो प्यारो छोराको निधन भएपछि नेपाल सरकारसँगको सहकार्यमा नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग शुरु गरेको इन्स्टिच्युटका संस्थापक जिम दम्पतीले बताए। स्वास्थयकर्मीको सहज व्यावस्थापनका लागि स्वास्थ्य कार्यालय नजिकै आवासगृह निर्माण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिए।

इन्स्टिच्युटले जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको आवासका लागि दुईतले भवन निर्माण गरिदिएको हो। भवनमा ९ वटा कोठा छन्।