जुवाडे पक्राउ


बाँके, (नेस)
बाँके प्रहरीले गएराति थप १४ जना जुवाडे पक्राउ गरेको छ। नेपालगन्ज–२०, राँझास्थित नन्दबहादुर थापाको घरमा जुवा खेलेका उनीहरूलाई १ लाख ५६ हजार ३ सय ५० रुपियाँसहित पक्राउ गरिएको हो। प्रहरीले जुवा खेल्ने, खेलाउने र हेर्नेलाई समेत नियन्त्रणमा लिएको छ। जुवाविरुद्ध बाँके प्रहरी कडारूपमा प्रस्तुत भएको छ। जुवा खेल्नेसँगै हेर्नेलाई समेत पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। जुवाको खालमा पक्राउ परेकालाई छुटाउन भने ठूल्ठूला मान्छे लागेका छन्। ‘जुवा खेलेको थिएन, हेरेको मात्रै थियो, छोडिदिनुपर्यो भनेर आफन्तहरू आउनु त स्वभाविक नै हो’ –एक प्रहरी अधिकृतले भने। बाँकेमा प्रहरीले यसअघि नै ५ स्थानबाट ६ लाख ३९ हजार २ सय ३ रुपियाँसहित ३६ जना जुवाडेलाई पक्राउ गरेर कारबाही गरिसकेको छ। यद्यपि, जुवा ऐनमा ठूलो सजाय भने छैन। पहिलोपटक २ सय रुपियाँमा जुवाडे छुट्छन्।