नेपाल डिभिजन–२ मा झर्‍यो, चार महिनापछि नामिबियामा प्रतिस्पर्धा गर्ने


नेपाल समाचारपत्र, काठमाडौं ।
आइसिसी विश्वकप क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको महत्वपूर्ण खेल वर्षाले प्रभावित बनेपछि नेपाल डब्लुसिएल डिभिजन–२ मा झरेको छ।

डब्लुसिएल च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल नेपाल र हङकङबीच सोमबार हुने तय थियो। हङकङमा आइतबार आएको समुद्री आँधीले खेल सोमबारका लागि सारिएको थियो। सोमबार पनि वर्षाले खेल हुन सकेन।

खेल हुन नसकेपछि नेपाल र हङकङले १–१ अंक बाँडेका छन्। जसको घाटा नेपाललाई पर्यो। डब्लुसिएल च्याम्पियनसिपको छैटौं चरण सकिँदा नेपाल ९ अंक जोडेर छैटौं स्थानमा छ। पाँचौं स्थानको केन्याको १२ तथा चौथो स्थानको हङकङको १४ अंक भएको छ। यसर्थ अब नेपालले अन्तिम चरणमा युएईलाई दुवै खेलमा पराजित गरे पनि १३ अंक मात्र हुनेछ र चौथो स्थान हात पार्न सक्नेछैन।

अन्तिम चरणअघि नै शीर्ष चारमा पुग्ने आशा सकिएसँगै नेपाल डिभिजन–२ मा झरेको छ। डब्लुसिएलका शीर्ष चार टिम एक दिवसीय विश्वकपमा छनोट प्रतियोगितामा पुग्नेछन् भने पुछारका चार टिम डिभिजन–२ मा झर्ने प्रावधान छ।

डिजिभन–२ मा झरेसँगै डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप छनोट खेल्ने र एक दिवसीय मान्यता पाउने नेपालको लक्ष्य सकिएको छ। तर, नेपालको डिभिजन–२ मार्फत विश्वकप छनोट खेल्ने दोस्रो विकल्प भने बाँकी नै छ।

नेपाल दुई वर्षपछि डिभिजन–२ मा झरेको हो। यसअघि नेपालले सन् २०१५ मा डिभिजन–२ क्रिकेट खेलेको थियो। सो प्रतियोगितामा नेपाल तेस्रो भएको थियो। प्रतियोगिता नामिबियामा भएको थियो।

फेब्रुअरीमा हुने डिभिजन–२ पनि नामिबियामै हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। सो प्रतियोगिताबाट शीर्ष २ टिम विश्वकप छनोटका लागि छानिनेछन्। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चार भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।

नामिबियामा डिभिजन–२ सकिएको एक महिनापछि जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता हुनेछ। १० टिमबीच हुने छनोट प्रतियोगिताबाट २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपमा छानिनेछन्। छनोट प्रतियोगितामा टेस्ट मान्यता प्राप्त आयोजक जिम्बावेसहित वेस्ट इन्डिज, अफगानिस्तान र आयरल्यान्डले पनि खेल्ने छन्।

एकदिवसीय विश्वकप छनोटमा विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपबाट ४ टिम तथा डिभिजन–२ बाट २ टिम छानिनेछन्। डब्लुसिएल च्याम्पियनसिपबाट नेदरल्यान्ड्स र पपुवा न्युगिनीले छनोट प्रतियोगिताका लागि स्थान बनाइसकेका छन्।