पहिलोपटक कृषि तथा पशु विज्ञान कक्षा

0
Shares

 

नेपाल समाचारपत्र
पर्वत
धौलागिरिमै पहिलोपटक तीन वर्षे कृषि तथा पशुविज्ञान संकायमा कक्षा शुरू भएको छ। पर्वत सदरमुकाम कुश्माबजारसँगै जोडिएका बागलुङ नगरपालिका १४ बलेवामा स्थापना भएको धौलागिरि पोलिटेक्निकल इन्स्टिच्युटले तीन वर्षे कोर्षमा कृषि तथा बाली विज्ञानको पढाई शुरू गरेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी)को झण्डै ६ करोडभन्दा बढीको लागतमा भवन तथा अन्य पूर्वाधारहरू निर्माण भए पनि पहिलो सत्रको रूपमा कक्षा शुरू भएको हो।

प्राविधिक शिक्षा लिनका लागि लाखौ रुपियाँ खर्चेर पोखरा, काठमाडौंलगायतका सुविधसम्पन्न ठाउँमा जान बाध्य यस क्षेत्रका विद्यार्थी तथा बेरोजगार युवायुवतीलाई मध्यनजर गर्दै तत्कालीन शिक्षा मन्त्री दिनानाथ शर्माको पहलमा उक्त इस्टिच्युट स्थापना भएको हो।
उक्त इन्स्टिच्युटमा यस वर्ष भेटेरेनरी सम्बन्धी कक्षा सञ्चालन गरिने र आगामी वर्षदेखि कृषिजन्य उत्पादन तथा प्राविधिकतर्फका अन्य कक्षाहरू सञ्चालन गरिने धौलागिरि पोलिटेक्निकल इन्स्टिच्युटका प्रमुख बज्रमोहन पौडेलले जानकारी दिनुभयो।

अहिले आवेदन माग भइरहेको र छड पर्व लगत्तै कक्षा सञ्चालन गरिने समेत उहाँले बताउनुभयो। उक्त इस्टिच्युटमा एक विषयमा ४० जनासम्मले अध्ययन गर्न सकिने बताइएको छ। उक्त विषय निजी क्याम्पसमा अध्ययन गर्नका लागि ६–१० लाख रुपियाँसम्म खर्चिनुपर्ने भए पनि सरकारी लगानीमा सञ्चालित उक्त पोलिटेक्निकल इन्स्टिच्युटमा अध्ययन गर्दा एक लाख २५ हजारमा पढ्न सकिने पौडेलको भनाइ रहेको छ।

कृषि तथा पशुविज्ञान अध्ययनका लागि सबैजसो भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ। गाईभैंसी फार्म, भेडाबाख्रा फार्म, कृषिजन्य उत्पादनका लागि करेसाबारीको व्यवस्थापन समेत भइसकेको सीटीइभिटीका साईड इन्चार्ज लेखनाथ जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले महिला छात्रवास, तथा कर्मचारीको आवास निर्माणको काम भइरहेको छ।

उक्त शिक्षालयमा तीन वर्ष अध्ययन गरेपछि नेपाल सरकारको नायब सुब्बा बराबरको रोजगारी गर्नका लागि योग्य नागरिक उत्पादन हुने भएको छ। अहिलेसम्म जिल्लाको पकुवा र मुडिकुवामा संचालित प्राविधिक शिक्षालयमा १५ महिने कोर्षसम्म पढाई हुने भए पनि यो इन्स्टिच्युटमा भने तीन वर्षे डिप्लोमा कोर्ष अध्ययन गर्न सकिने भएपछि बढी मात्रामा धौलागिरि क्षेत्रका बासिन्दा लाभान्वित हुने जोशीले बताउनुभयो।

यसमा भर्ना हुनका लागि एईई परिक्षामा न्यूनतम १ दशमलव ६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ। उक्त श्रेणीमा एईई पास गरेका र बेरोजगार भएकाले समेत भर्ना भएर अध्ययन गर्न सक्ने जोशीले जानकारी दिनुभयो। आवेदन खुलेसँगै नेपालका धेरै जिल्लाबाट भर्ना हुनका लागि विद्यार्थी आएको बताइएको छ।