बाबा राम रहिमको ठूलो सुटकेस प्रहरीको कब्जामा

0
Shares

 

नयाँदिल्ली,(एजेन्सी)
भारतका विवादास्पद बाबा राम रहिम सिंह इन्साको १ सयभन्दा बढी सम्पत्तिको विवरण रहेको सुटकेस प्रहरीको हातमा परेको छ। हाल बलात्कार अभियोगमा १५ वर्षलामो कारावास सजाय भोगिरहेका बाबा रहिमकी धर्मपुत्री हनीप्रीतले भाग्नुअघि पन्जाबको गुरुसर मोडियामा १ व्यक्तिको घरमा लुकाइराखेको एउटा खैरो रंगको ठूलो सुटकेसभित्र सम्पत्तिको सम्पूर्ण विवरण भेटिएको सुरक्षा सुत्रले जनाएको छ।

त्यसबाहेक २ वटा झोला पनि फेला परेका छन्। तिनमा पनि राम रहिमको कारोबारसँग जोडिएका धेरै जानकारी छन्।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। कागजातमा केही कम्पनीको र केही अधिकारीको पनि नाम उल्लेख गरिएको छ। तर प्रहरीको अनुसन्धानमा यी मानिसको बारेमा कुनै जानकारी नभएकाले यी कीर्ते नाम हुन् भनी भन्ने शंका प्रहरीलाई छ।

सुटकेसमा राम रहिमको सम्पत्तिसँग सम्बन्धित बैंक विवरण अनि केही डेबिट र क्रेडिट कार्डहरू भेटिएका छन्। विगत केही महिनामा कारोबार भएको पैसाको रेकर्ड छ। त्यो कारोबार करोडौं रुपियाँमा रहेको बताइएको छ। प्रहरीले सो पैसा पञ्चकुला हिंसामा लगानी गरिएको आशंकामा अनुसन्धान गरिरहेको छ।

राम रहिमको अनैतिक सम्बन्धसमेत रहेको बताइने हनीप्रीतको ल्यापटप हिसार प्रहरीसँग सुरक्षित छ। यो ल्यापटप प्रहरीले डेरा सच्चा सौदामा छापा मार्दा फेला पारेको थियो।

हनीप्रीतले यसको बारेमा अनभिज्ञता प्रकट गरेपछि प्रहरीले यसको जाँचका लागि ल्याब पठाएको छ। केही फाइल डिलिट भइसकेको र त्यसलाई रिकभर गर्न बाँकी रहेको प्रहरीले पनि बताएको छ।