एमालेले देशभर बहुमत प्राप्त गर्छः ओली

0
Shares

 

भक्तपुर, (नेस)
राप्रपा नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले यादबलाई खादा र टीका लगाइ पार्टीमा प्रवेश गराउनुभयो।

सो अवसरमा बोल्दै अध्यक्ष ओलीले आसन्न निर्वाचनमा एमालेले तराई मधेससहित देशभर बहुमत प्राप्त गर्ने दाबी गर्नुभयो। अध्यक्ष ओलीले विभिन्न कारणले अन्य पार्टीमा अल्मलिएकाहरू बिस्तारै एमालेमा आउने बताउँदै त्यसको परिणाम आगामी निर्वाचनमा देखिने धारणा राख्नुभयो।
तराईमा एमालेविरुद्ध भ्रम छर्न खोजिए पनि तराईको विकासका लागि एमालेले विशेष कार्यक्रम ल्याएको उहाँको दाबी छ। कांग्रेस नेतृत्वको सरकारले ३८ वटा उद्योग निजीकरणका नाममा धरासायी बनाएको बताउँदै यसले देशको अर्थतन्त्रमा प्रतिकूल प्रभाव पारेको ओलीले उल्लेख गर्नुभयो।

कार्यक्रममा विप्लव समूहका माओवादीका केन्द्रीय सदस्य दलबहादुर बस्नेतलाई पनि अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयो। कार्यक्रममा बोल्दै नेता यादब र बस्नेतले अब देशको मुलधारको पार्टी एमाले भएको बताउँदै यसलाई थप मजबुद बनाउन आफूहरू एमालेमा पवेश गरेको बताउनुभयो।