मारवाडी समुदायबाट निकिता मिस नेपाल

0
Shares

विदुर गिरी

मिस वल्र्ड जस्तो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रमुख उपाधि चयन गर्ने व्यवस्थालाई पछ्याउँदै एक जनाबाहेक फाइनलमा पुगेका बाँकी ६ जना प्रतिस्पर्धीको कानमा बाहिरको आवाज सुन्न नसकिने एयरफोन लगाउन लगाई सोधिएको प्रश्नमा तार्किक जवाफ दिँदै उर्लाबारी, मोरङकी निकिता चाण्डकले यसपालिको मिस नेपालको ताज चुमिन्।

हिडन ट्रेजरद्वारा आयोजित नेपालकै पहिलो सौन्दर्य प्रतियोगिताको पछिल्लो संस्करण मिस नेपाल–२०१७ का मुख्य निर्णायक डा. चिरञ्जीवी नेपालले अन्तिम चरणमा पुगेका सातजना प्रतिस्पर्धीलाई सोधेको ‘तपाईंको विचारमा एउटी नारीले देशको आर्थिक विकासमा कस्तो भूमिका खेल्न सक्छिन् ?’ भन्ने एउटै सामूहिक प्रश्नमा सबैभन्दा घतलाग्दो र तार्किक जवाफ दिएर चाण्डकले यो प्रतियोगिताका इतिहासमै पहिलोपटक मारवाडी समुदायको प्रतिनिधित्व गर्दै मिस नेपालको चम्किलो ताज आफ्नो शिरमा सजाइन्।

हाल बानेश्वरस्थित कात्यायानी मन्दिर छेउमा बस्दै आएकी २० वर्षीया निकिताले समाजसेवी अनुराधा कोइरालासहित विभिन्न सक्षम महिलाको उदाहरण पेस गर्दै अर्थतन्त्रमा महिलाको भूमिका महत्वपूर्ण हुने जवाफ दिएकी थिइन् । उनले तथ्याङ्कसमेत प्रस्तुत गर्दै कुल जनसंख्यामध्ये ५१ प्रतिशत रहेका महिला शिक्षित तथा आर्थिकरूपले सबल हुन सके देशको विकास हुन समय नलाग्ने तर्कका साथ भनेकी थिइन्– ‘मुलुकको विकासमा महिला र पुरुष दुवैको उत्तिकै भूमिका अनिवार्य हुन्छ ।’

मिस वल्र्ड नेपाल–२०१७ चुनिने निर्णायक चरणमा सबैभन्दा रोचक तथा आकर्षक जवाफ दिएकी निकिताले त्यसअघिका जवाफमा पनि निर्णायकसहित दर्शकलाई समेत प्रभावित पारेकी थिइन् । ५ फिट ६ इन्च अग्ली निकिता भारतको नोएडामा व्यवस्थापनमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत छिन् । नृत्य, गीत तथा मोडलिङमा रुचि भएकी उनले अध्यनका क्रममा भारतका र्याम्प शोमा मोडलिङ गर्दै आएकी छिन् भने अभिनेत्री बन्ने लक्ष्य बोकेकी छिन् ।

मिस नेपालको उपाधिमा आफ्नो नाम घोषणा हुँदा आँशु झार्ने गरेको देखिए पनि निकिता भने मुस्कानमा गम्भीर हुँदै दर्शकलाई नियालिरहेकी थिइन् । ‘विजेताका रूपमा मेरो नाम घोषणा हुँदा परिवालाई खोजिरहेको थिएँ । तर उहाँहरू त स्टेज नजिकै आइसक्नुभएको रहेछ’ – उनले सुनाइन् ।
निकिताकी आमा गृहिणी हुन् भने बुवा उर्लाबारीकै फुटवेयर व्यवसायी हुन् । निकिताले उपाधिका साथ नगद एक लाख रुपियाँ तथा मिस कन्फिडेन्ट र पब्लिक च्वाइस अवार्डको उपउपाधिलाई आफ्नो बनाइन् । निकिताले प्रमुख उपाधि जितेबापत नेपालका तर्पmबाट मिस वल्र्ड २०१७ मा स्पर्धा गर्ने अवसर पाउनेछिन् ।

प्रतियोगिताको अन्तिम चरणमा रोजिना श्रेष्ठ, रक्षा कार्की, सहारा बस्नेत, नीति शाह, मञ्जरी सिंह र रोजिना श्रेष्ठ पनि निकिता पनि चयन भएकी थिइन् । प्रतियोगितामा मिस नेपाल अर्थको उपाधि रोजिना श्रेष्ठले जितिन् । मित्रपार्क काठमाडौंकी २३ वर्षीया श्रेष्ठले आईटी तथा म्यानेजमेन्टमा स्नातक गरेकी छिन् । उपाधिबापत उनले ७५ हजार रुपियाँ पाइन् । यो उपाधि जितेबापत उनले मिस अर्थ–२०१६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । त्यसै गरी स्थापित मोडलसमेत रहेकी नीति शाहले भने मिस नेपाल इन्टनरनेसनलमा चित्त बुझाउनुपर्यो । उनी निर्णायक चरणको प्रश्नको जवाफ दिने क्रममा हडबडाएकी थिइन् ।
उनले यो उपाधिबापत ५० हजार रुपियाँ प्राप्त गरिन् । दाङकी उनले आगामी नोभेम्बरमा जापानमा हुने मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । त्यस्तै यसै वर्ष थपिएको मिस नेपाल एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि भने ललितपुरकी सहारा बस्नेतले चुमिन् । सन् २०११ मा सम्पन्न मिस ग्लोबल प्रतियोगिताको उत्कृष्ट ५ सम्म पुगेर रोकिएकी उनी बास्केटबल खेलाडीसमेत हुन् । १९ अविवाहित युवतीका बीच सम्पन्न प्रतियोगितामा अनुशा लम्साल मिस फोटोजेनिक, वर्षा पोखरेल मिस हेयर, दृष्टि कटुवाल ब्युटी विथ पर्पस, रोजिना श्रेष्ठ मिस पे्रmन्डसिप, निकी शाह मिस फेसिनो, सहारा बस्नेत मिस इन्टुलेक्चुअल, नम्रता गुरुङ मिस ट्यालेन्ट, निकी शाह मिस बेस्ट कम्पलेक्सन, मञ्जरी सिंह मिस एथलेटिक्स भएका थिए ।