काठमाडौँ उपत्यकाबाट ४१ मेट्र फोहर व्यवस्थापन

0
Shares

काठमाडौँ,  काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २३१ औँ हप्तामा आज पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानकर्मी एवं विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रबहादुर बस्नेत, खेम्स क्लिनिङ अष्ट्रेलियाका खेम शर्मा, जीवन विज्ञानका एलपी भानु शर्मा, एस ट्राभल्सका अर्जुन धरेल, विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठलगायतको सक्रियता थियो ।

यही कात्तिक ४ गते २३२ औँ हप्ताका दिन नेपालीको दोस्रो ठूलो पर्व तिहारको भाइटीका परे पनि गुह्येश्वरी मन्दिरअघिको वाग्मतीमा सफाइ गरी निरन्तरता दिइने महाअभियानले जनाएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९१ औँ हप्तामा आज हनुमानघाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनीमैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १८९ औँ हप्तामा आज रातोपुलदेखि सेतोपुलसम्मको दायाँबायाँ नदी किनार सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

विष्णुमती सफाइको १६० औँ हप्तामा तारकेश्वर गुम्बाअघिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी अनिल धरेलले जानकारी दिनुभयो ।

मनोहरा नदी सफाइको २९ औँ हप्तामा आज हनुमन्ते दोभानस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मनोहरा सफाइ अभियानले जडीबुटी चोक र कोटेश्वर चोकमा उद्यान निर्माणका लागि सडक विभागसँग अनुमति लिएको अभियानकर्मी रुद्र पौडेलले बताउनुभयो ।

चक्रपथ सफाइको २७ औँ हप्तामा वसुन्धरादेखि नारायणगोपाल चोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३५० भन्दा बढीको सहभागिता थियो । सफाइमा तीनवटै सुरक्षा निकायको सहभागिता रहेको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

यसैगरी मीनभवन आलोकनगर सफाइको २७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताउनुभयो । चक्रपथको सीतापाइला सफाइको नवौँ हप्तामा हलचोकदेखि सिद्धार्थ वनस्थलीसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, कलाकार श्रीकृष्ण सिंखडालगायतको सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । सफाइमा ५०० जनाको सहभागिता थियो ।

यसैगरी इन्द्रमती नदी सफाइको सातौँ हप्तामा बल्खुको भुवनेश्वरी मन्दिर क्षेत्रको सूर्यघाटस्थित छठपूजास्थलमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ जागरण आएको छ ।
रासस