निर्वाचन आयोगले राष्ट्रपतिलाई भन्योः मन्त्रिपरिषद् विस्तारले निर्वाचनमा कुनै असर पर्दैन


नेपाल समाचारपत्र, काठमाडौ ।
प्रतिनिधि सभा चुनावको नजिकिदै गर्दा गरिएको सरकार विस्तारलाई ‘निर्वाचन आचारसंहिता विपरित’ भन्न नमिल्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका ८ जना थपेर मन्त्रीमण्डल विस्तार गरेको कुरा आचारसंहिता विपरित हो या होइन भन्ने प्रश्नमा आयोगका पदाधिकारीले यस्तो कुरा बताएका हुन्।

संसद सकिनु एक दिनअघि र निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा सरकार विस्तारले आचारसंहिता उल्लंघन भएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना बेला राष्ट्रपति भण्डारीले थपिएका मन्त्रीको सपथ गराएकी छैनन्।

मन्त्रीमण्डल विस्तारले हुने आचारसंहिता उल्लंघनबारे प्रमुख निर्वाचन आयुक्त र प्रधानमन्त्रीसँगको परामर्शपछि मात्र सपथ समय तोक्ने राष्ट्रपति कार्यालयको तयारी थियो।

यही सिलसिलामा शनिबार बिहान शितल निवासमा राष्ट्रपतिले आयोगका पदाधिकारी भेटेकी हुन्। उनीहरुले यो विस्तार आचारसंहिता विपरित नभएको जनाएपछि अब राष्ट्रपतिले परामर्शका लागि प्रधानमन्त्री देउवालाई नभेट्ने स्रोतले बताएको छ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले ‘थपिएका मन्त्रीको सपथ गराउनु आचारसंहिता विपरित हुन्छ कि हुँदैन’ भनी आयोग पदाधिकारीलाई सोधेकी थिइन्। राष्ट्रपतिको यस्तो प्रश्नमा सपथ रोक्नु नपर्ने आयोगले बताएको छ ।