भूकम्पपीडितलाई सहयोग

0
Shares

 

चिरञ्जीवी मास्के, दोलखा
गैरआवसीय नेपाली (एनआरएन) कृष्णप्रसाद शिवाकोटीले दोलखा सुनखानीका अभिभावकविहीन बालबालिकालाई शैक्षिक सहायता रकम प्रदान गर्नुभएको छ।

दोलखा कालिञ्चोक गाउँपालिकास्थित सुनखानीमा जन्मनुभएका युवा उद्यमी एनआरएन शिवाकोटीले दोलखाका विभिन्न ७ जना विद्यार्थीलाई प्रतिविद्यार्थी १० हजार रुपियाँका दरले शैक्षिक सहायता रकम प्रदान गर्नुभएको हो।

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) को समन्वयमा गत २०७२ सालको भूकम्पमा परी अभिभावक गुमाएका विद्यार्थीलाई शिवाकोटीले उक्त रकम उपलब्ध गराउनुभएको हुराडेक दोलखाका अध्यक्ष होम पाठकले बताउनुभयो। रकम प्राप्त गर्ने विद्यार्थीमा कालीनाग उच्च मावि सुनखानीका देवी पाठक, सर्व मावि जिलुका कैलाश चौलागार्इं, मुनाल बस्नेत, मनिका बस्नेत, हिमालयन एकेडेमी जफेका उज्वल महत र उदीक्षा महत र कालीनाग मावि सुनखानीका मनिष शिवाकोटी रहेका छन्। यसअघि गत वर्ष शिवाकोटीले १४ जना बालबालिकालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो।

स्विजरल्यान्डमा बस्दै आउनुभएका एनआरएन शिवाकोटीले भूकम्पमा अभिभावक गुमाए पनि अध्ययन कार्यमा समस्या नहोस् भनेर वार्षिकरूपमा सहायता रकम उपलब्ध गराउँदै आएको बताउनुभयो।  यसै बीच यस वर्षको विश्व विपद् न्यूनीकरण दिवस दोलखामा अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसको अवसर पारी मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले विपद् पूर्वतयारीमा जोड दिनुपर्ने बताउनुभएको थियो।

कार्यक्रममा हुराडेक नेपाल दोलखाका टिम लिडर सौगात थापाले विपद् जोखिम न्यूनीकरणका बारेमा जानकारी दिनुभएको थियो भने हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठकले सबै सरोकारवाला निकाय मिलेर विपद् जोखिम न्यूनीकरणका बारेमा सचेतना फैलाउनुपर्नेमा जोड दिनुभएको थियो।