बलिउडसम्म छाउँदै अदिती

0
Shares

शाक्यजी

मोडल र फेसन ब्लगरका साथमा अभिनेत्रीका रूपमा पनि परिचय थपिएको छ अदिती बुढाथोकीको । फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि उनको लोकप्रियता उत्तिकै छ । उनी नेपाली रजतपटमा कृ नामक फिल्ममार्फत् डेब्यु गर्दै छिन् र देखिने छिन् सिल्भर स्क्रिनमा अहिलेका युवापुस्ताका सर्वाधिक लोकप्रिय अभिनेता अनमोल केसीसँग । मोडलिङको सिलसिलामा काठमाडौंदेखि मुम्बईको यात्रा तय गरेकी अदितीले मुम्बईमा आफ्नो प्रभाव राम्ररी जमाउन थालिसकेकी छिन् । हालै मात्र उनी अभिनीत गायक सन्दीप ब्रारको स्टेप कट् बोलको पञ्जाबी म्युजिक भिडियो अहिले हटकेक बन्न पुगेको छ । युट्युबमा ख्याति कमाउँदै यो भिडियो रिलिजको छोटो समयमै दुई लाखभन्दा बढी पटक हेरिएको म्युजिक भिडियो बन्न सफल भएको थियो र यसको दर्शक संख्या बढ्दो क्रममा रहेको छ ।

सुन्दर एवं चार्मिङ मुहार, ५ फिट ५ इन्च उचाइको शरीरमा चिटिक्क मिलेको जीउडाल, सिम्पल शालिनदेखि स्टनिङ ग्ल्यामरस लुकमा उत्तिकै प्रभावकारी देखिन सकिने उनको क्षमता र प्रस्तुतिले उनलाई नेपाली र मुम्बईमा रहेका थुप्रै फेसन फोटोग्राफरहरूको लेन्समा कैद हुने अवसर प्रदान गरेको छ । जसमा उनी सफल र प्रभावकारी देखिएकी छिन् । महेश प्रधान, अन्जिल मास्के, शैशवकिशोर श्रेष्ठ, ब्रायन राई, हेमंग फोटोग्राफीदेखि हितेश कनरिया, अमित अग्रवाल, अद्वेत वैद्य, फैजी अली, सर्दुल नवारेलगायतका भारतीय फेसन फोटोग्राफरका फोटोग्राफी कलाको शोभा बन्न सफल भएकी २४ वर्षीया अदिती आफ्नो फेसन ब्लग अदितिज् क्लोजेटमार्फत् फेसनसम्बन्धी लेखन तथा त्यसमार्फत् धेरैलाई पछिल्लो फेसन शैलीबारे सजग गराउनमा पनि सक्रिय रहँदै आएकी छिन् ।

मुम्बईमा मोडलिङ गतिविधिमा प्रभावकारी बन्दै गएकी अदितीले जाबोङ डटकम, अमेजन डटकम जस्तो कहलिएको अनलाइन सपिङदेखि भायलेट फेसन, सिल्कभिल्ला, नवदुर्गा साडीलगायतको फेसन ब्रान्ड, जडाउ ज्वेलरी, ब्लिङ, श्री कल्पतारु ग्रुपलगायत विभिन्न ब्रान्डका लागि मोडलिङ गरिसकेकी छिन् । उनी सुनन्दा नामक भारतीय पत्रिकाको कभर गर्ल पनि बनिसकेकी छिन् । मोडल म्यानेजमेन्ट एजेन्सी टीएफएम इन्डियाकी मोडलसमेत रहेकी अदिती भारतको चर्चित म्युजिक कम्पनी सोनी म्युजिकको तीन म्युजिक भिडियोका लागि पनि अनुबन्धित भइसकेकी छिन् ।

त्यसो त काठमाडौंमै पनि अदिती चिरपरिचित मोडलकै रूपमा गनिन्छिन् । केही फेसन शो र म्युजिक भिडियोमा देखिसकेकी अदिती विभिन्न नेपाली म्यागाजिनको कभर गर्ल ब्लो अपको शोभा भइसकेकी छन् । ग्लाम हन्ट २०१३ की प्रतिस्पर्धी रहेकी अदिती सो प्रतियोगितामा बेस्ट स्किन अवार्ड विजेता पनि हुन् । नेपाल फेसन सप्ताहको २०१५ प्रोमोसनल अभियानमा मुख्य मोडल बनेकी अदितीले कुवेर ज्वेलरी, द डानियल वेलिङटन नामक स्टाइलिस घडीका लागि पनि मोडलिङ गरिसकेकी छिन् ।

आईटीमा स्नातक डिग्री प्राप्त अदिती इद सिरान, वन् डिरेक्सन सुन्न रुचाउँछिन् भने डिस्नी मुभीप्रति उनी बढी झुकाव राख्छिन् । घरपालुवा जनावरमा कुकुर मन पराउने अदिती सपिङका पनि उत्तिकै सौखिन हुन् । रातो र गोल्डेन उनको मन पर्ने कलर सेड्स हो उनको पहिरन चयनमा ब्ल्याक ड्रेस, जिन्स, ह्वाइट सर्ट र भिन्टेज ड्रेस पर्दछ ।