सवा करोड नेपालीको मात्रै वित्तीय क्षेत्रमा पहुँच

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
१ करोड १५ लाख नेपालीको मात्रै बैंक तथा वित्तीय संस्थामा पहुँच रहेको एक अध्ययनले देखाएको छ। नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाको एउटा शाखाले औसतमा करिब छ हजार जनसंख्यालाई सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।

डेढ सयको संख्यामा सञ्चालित बैंक तथा वित्तीय संस्थाका ५ हजारभन्दा बढी शाखाहरूमार्फत सवा करोडको संख्यामा मात्र नेपालीहरू उक्त क्षेत्रसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका छन। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षसम्म ‘क’ वर्गका २८ वटा वाणिज्य बैंकका २ हजार २ सय ७५ शाखा छन्। त्यसैगरी ‘ख’ वर्गका ४० वटा विकास बैंकका ७ सय ६९ शाखा, ‘ग’ वर्गका २८ वटा फाइनान्स कम्पनीका १ सय ३० वटा शाखा र ‘घ’ वर्गका ५३ वटा लघुवित्त कम्पनीका १ हजार ८ सय ९५ वटा शाखा रहेका छन। यसरी कुल ५ हजार ६८ वटा बैंक तथा वित्तीय क्षेत्रका शाखाहरूमामार्फत प्रतिशाखा ५ हजार ६ सय १० जनालाई बैंकिङ सुविधा प्राप्त हुँदै आएको राष्ट्र बैंकले जनाएको छ।

मुलुक संघीय संरचनामा गइसकेपछि हरेक स्थानीय तहमा बैंकिङ क्षेत्र र वित्तीय पहुँचका लागि शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिइसकेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउनका लागि विशेष कार्यक्रमसमेत ल्याइसकेको सन्दर्भमा क्षेत्रगत रूपमा बैंकिङ पहुँचको अवस्थालाई पनि मध्यनजर गरिएको राष्ट्र बैंकले जनाएको छ।

अकिकांश बैंक तथा वित्तीय संस्थाका शाखा राजधानी आसपास र सहर केन्द्रित देखिन्छन्। राजधानी र यस आपपासका क्षेत्रमा मात्र ‘क’ वर्गका बैंकहरूको शाखा १ हजार ४३, ‘ख’ वर्गका बैंकहरू २ सय ५७ र ‘ग’ वर्गका फाइनान्सहरूको ७१ गरी जम्मा १ हजार ३ सय ७१ वटा शाखा रहेका छन्। राष्ट्र बैंकको तथ्यांकलाई हेर्दा विकासक्षेत्रगत अनुसार पूर्वाञ्चलमा वाणिज्य बैंकहरूको शाखा ४ सय १९, विकास बैंकहरू ८५ र १८ वटा फाइनान्स गरी जम्मा ५ सय २२ वटा शाखा रहेका छन्। त्यस्तै पश्चिमाञ्चलमा वाणिज्य बैंकका शाखा ४ सय ६४, विकास बैंकका शाखा ३ सय १८ र ३१ वटा फाइनान्सहरू गरी जम्मा ८ सय १३ वटा शाखा रहेका छन्। मध्यपश्चिमाञ्चलमा २ सय १२ वटा वाणिज्य बैंक शाखा, ७९ वटा विकास बैंकका शाखा र ८ माइक्रोफाइनेन्सका शाखा गरी जम्मा २ सय ९९ वटा शाखा रहेका छन्।

सुदूरपश्चिमाञ्चलमा वाणिज्य बैंकहरूको शाखा १ सय ३६, विकास बैंकका शाखा ३० र फाइनान्सहरूको २ वटा गरी जम्मा १ सय ६८ वटा शाखा रहेका छन्। यस तथ्यांकलाई आधार मान्दा तुलनात्मक रूपमा सुगम मानिएका र ठूला शहरहरू भएका पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलमा ८५ प्रतिशत शाखाहरूले सेवा पुर्याईरहेका छन। मध्यमश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल विकासक्षेत्रमा भने क्रमशः १० र ५ प्रतिशत शाखाहरू मात्रै रहेका छन्।

राज्य पुर्नसंरचनासँगै बैंक तथा वित्तीय संस्थाको सेवा सुविधा विकेन्द्रीकृत गर्ने नीतिगत व्यवस्था लागु भईसकेपनि सबै क्षेत्रमा बैकिङ सेवा पुर्याउन अन्य आवश्यक पूर्वाधारहरू पनि निर्माण हुन सकेका छैनन्।

स्थानीय तहमा विस्तारित अधिकार र कार्यजिम्मेवारी पाएपछि अबको स्थानीय तहले ठुलो आकारको वित्तीय स्रंोत परिचालन गर्नुपर्ने अवस्था छ।

तर धेरैजसो स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरूको स्थापना नै नभएका कारण कमजोर बैंकिङ पहुँच स्थानीय तहको चुनौतीका रूपमा देखिएको छ। हालको अवस्थामा पनि लघुवित्त कम्पनीबाहेकका तीन वटा वर्गका बैंक तथा वित्तीय संस्थाका ३ हजार भन्दा बढी शाखाबाट प्रतिशाखा ८ हजार ९ सय ६० जनालाई सेवा दिनुपर्ने अवस्था रहेको छ।

लघुवित्त बाहेक अन्य तीन वटा वित्तीय संस्थाले ३ हजार १ सय ७३ वटा शाखामार्फत् १ करोड ९७ लाख ५४ हजार ३६ वटा निक्षेप खाता र १ करोड २१ लाख ६ हजार ९१ वटा कर्जा खाता सञ्चालनमा रहेका छन्। त्यस्तै २ हजार ८१ वटा एटीएम शाखा, ७ लाख ८३ हजार ७ सय ५१ जनाले इन्टरनेट बैकिङ र २६ लाख ६९ हजार ७ सय ३२ जनाले मोबाइल बैकिङ सेवा लिँदै आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।