आँधीहुरी आउनुअगाडिको शान्ति


 

वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले आँधीहुरी आउनुअगाडिको शान्तिको स्थिति भएको बताए। ट्रम्पले उक्त कुरा वरिष्ठ अधिकारीसँगको बैठकपछि भनेका हुन्। उनले यस विषयमा थप जानकारी दिएका छैनन्।

इरानसँग परमाणु सम्झौता रद्द गर्ने ट्रम्पको योजनाका बारेमा समाचार बाहिर आएको केही घण्टाभित्र उनले उक्त संकेत दिएका हुन्। ट्रम्पले उल्लेख गरेको आँधी उत्तर कोरियासँग अमेरिकाको बढ्दो तनावलाई लिएर पनि हुन सक्ने अनुमान गरिएको छ।

यसअघि सेनाका वरिष्ठ अधिकारीलाई ट्रम्पले उनीहरूलाई भविष्यमा विभिन्न प्रकारका सैनिक विकल्प परिचालन गर्न तयार रहनु पर्ने र त्यो पनि तीव्र रूपमा हुनुपर्ने बताएका थिए।

ह्वाइट हाउसमा सेना अधिकारी र उनीहरूका पत्नीसँग फोटो सेसनपछि ट्रम्पले भनेका थिए– ‘यो आँधीबेरीअगाडिको शान्ति हो।’ पत्रकारहरूले यस विषयमा सोधिएको प्रश्नको जवाफमा उनले भने– ‘तपार्इंहरूले थाहा पाउनु हुनेछ।

हालको स्थितिमा ट्रम्प प्रशासनको संकेत दुई देशतर्फ हुनसक्छ, इरान र उत्तर कोरिया। दुई देशको आफ्नो परमाणु कार्यक्रम रहेको छ।’ सेनाका अधिकारीसँग ट्रम्पको भेटघाटमा ती दुई देशका विषयमा चर्चाको भएको जनाइएको छ।

ट्रम्पले इरानमाथि सम्झौताको भावनाअनुरूप काम नगरेको आरोप लगएको छ। इरान र अमेरिकाबीच यो सम्झौता पूर्व–राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको थियो।

सन् २०१५ मा यो सम्झौता तेहरानको परमाणु कार्यक्रम रोक्नका लागि इरान र ६ शक्ति राष्ट्रबीच भएको थियो। ट्रम्पले उक्त सम्झौताका विषयमा आफूले देखेका खराब सम्झौतामध्ये पनि सबैभन्दा खराब भएको प्रतिक्रिया दिएका थिए।