कांग्रेसको अपेक्षा पूरा भएन


काठमाडौं, (नेस)
नेपाली कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा पनि अपेक्षित सिट जित्न सकेन। कांग्रेसले यो प्रदेशमा १ सय तहमा विजयी भई पहिलो दल बन्ने दाबी गरेको थियो। आन्तरिकरूपमा चाहिँ प्रदेश नम्बर २ मा ६० स्थानीय तहमा विजयी हासिल गर्ने विश्लेषण गरेको थियो।

सन्तोषजनक परिणाम नआए पनि आगामी मंसिर १० र मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उत्साहका साथ उम्मेदवार छनोटमा जुटेको छ। स्थानीय तहको पहिलो र दोस्रो चरणमा अनपेक्षित हार व्यहोरेसँगै ठूलो दल बनेको नेकपा एमाले भन्दा ४९ सिटले कम भएको कांग्रेसले प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको निर्वाचनबाट यो संख्या घटाउने दाबी गर्दै आएको थियो।

प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लाको १ सय ३६ स्थानीय तहको प्रमुख पदमा कांग्रेसले एमालेलाई झन्डै २० सिटले पछि पारेको छ।

माथिल्लो निकायको निर्देशनअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेद्वारको नाम सिफारिस गरी असोज १७ गतेभित्र केन्द्रीय कार्यालयमा नाम लिस्ट पठाउने तयारी गरिरहेको कांग्रेसले यो निर्वाचनमा चाहिँ पहिलो दल बन्न स्थानीय क्षेत्रमा जनप्रिय रहेका नेतालाई उम्मेद्वार बनाउने जनाएको छ।

मुख्य रूपमा उम्मेदवार छनोट गर्दा कमजोर र गुटगत स्वार्थमा चयन भएको तथा अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार व्यहोरेको र ठूलो दल बन्न नसकेको निष्कर्षमा पुगेको कांग्रेसले आगामी निर्वाचनमा सबै कमीकमजोरी हटाएर निर्वाचनमा होमिने जनाएको छ।

उम्मेद्वार सिफारिसका लागि केन्द्रीय कार्यसम्पादन समितिले पठाएको निर्देशनमा पार्टीको तेह्रौं महाधिवेशनमा गठन भएका पार्टीका गाउँ ⁄नगर कार्यसमितिले २०७४ असोज १० गतेभित्र आफ्नो सुझाव र सिफारिस क्षेत्रमा, क्षेत्रले आफ्नो सिफारिस असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले क्षेत्रबाट आएको सिफारिसलाई आफ्नो रायसहित असोज १७ गतेभित्र केन्द्रमा अनिवार्य रूपमा पठाउनु पर्नेछ।

कांग्रेसले आगामी निर्वाचनमा बढीभन्दा बढी सिट जित्न र ठूलो दलको हैंसियत कायम राख्न सातवटै प्रदेशमा भावी मुख्य मन्त्री घोषणा गरी उनीहरूकै कमान्डमा निर्वाचनमा होमिने रणनीतिका बारेमा पनि शीर्ष नेताबीच छलफल चलिरहेको छ। साथै निर्वाचनमा पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ता परिचालन गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।