ओभरलोड नियन्त्रणमा कडाई सीताराम चौधरी

0
Shares

 

चन्द्रौटा (कपिलवस्तु)

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले दुई महिनामै ६ लाख २५ हजार ५ सय रुपियाँ राजस्व संकलन गरेको छ।आर्थिक वर्ष २०७४⁄७५ को साउन र भदौ महिनामा ओभरलोड ट्रक र ट्याक्टर कारबाहीबाट मात्र ट्राफिक प्रहरीले सो राजस्व संकलन गरेको हो। दुई महिनामा १२ सय ५० वटा ओभरलोड ट्रक र ट्याक्टर कारबाही हुँदा सो बराबरको राजस्व उठाउन सफल भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अमरबहादुर कार्कीले जानकारी दिनुभयो।

ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार साउन महिनामा ६ सय ५१ सवारी कारबाहीबाट ३ लाख २५ हजार ५ सय राजस्व संकलन भएको छ भने भदौ महिनामा ५ सय ९९ सवारी कारबाही हुँदा २ लाख ९९ हजार ५ सय रुपियाँ राजस्व उठेको बताइएको छ।

ट्राफिक नियमको उल्लंघन गर्दै ओभरलोड तथा भवरलोड गरी ओसारपसार गरेका सवारी साधनलाई यतिबेला नियन्त्रणमा लिई कारबाही थालिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो। उहाँका अनुसार खोलाजन्य ढुंगा, गिट्टी, बालुवा, औद्योगिक कच्चा पदार्थ क्लिंकर, भुस, पराल जस्ता वस्तु ओभरलोड वा भवरलोडका सवारी कारबाहीमा पर्ने गरेका छन्।

ओभरलोड वा भवरलोड नियन्त्रणका लागि अहिले ट्राफिक प्रहरीले विशेष चेकजाँच अघि बढाएको छ। त्यस्ता सवारी साधन कसैको एरियाबाट उम्कन नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले आफ्ना मातहत इकाईलाई समेत कडा निर्देशन गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो। ‘क्षमताभन्दा बढी सामान ढुवानी गर्ने नेपाली तथा भारतीय नम्बर प्लेटका सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेको हातामा राखी भार मिलान गरेपछि पुनः नियमानुसारको जरिवाना गरी छाडिने गरिएको छ।’ –उहाँले भन्नुभयो।

सवारी साधनभन्दा धेरै बाहिर र माथिसम्म भारी बनाई ओसारपसार हुँदै आएको पराल तथा भुसका सवारी साधन जिल्ला ट्राफिकले रातको समयमा चलाउन अनुरोध गर्दै आएको छ। सवारी चापका कारण भुस, पराल लोड सवारी दिनमा आवतजावत गर्दा सडकमा अन्य सवारी साधनलाई प्रत्यक्ष असर पर्ने हँुदा रातको समयमा चलाउन अनुरोध गरेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो। रातको समयमा सवारी चाप कम हुने र अन्य समस्या समेत कम हुने हँुदा त्यस्ता सामानको ढुवानी गर्दा सकभर रातमै गर्न सम्बन्धित समिति, व्यवसायी र चालकसमेतलाई अनुरोध गरिएको उहाँले जनाउनुभयो।