पैसा कमाउने खतरनाक योजनाको पर्दाफास


 

रोशन पराजुली, हेटौंडा
भदौ २० गते मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने ट्रक चालक उज्ज्वल कँडेल र योजनाकार भनिएका हेटौंडा–३ का सन्तोष खत्री चितवनको इच्छामनकामना गाउँपालिका जलवीरेमा गए। उनीहरू त्यहाँ जानुमा एक खतरनाक आपराधिक मानसिकता थियो।

उनीहरू त्रिशुली नदीको कुन ठाउँमा ट्रक खसालेपछि ट्रक फेला पर्दैन र शंका पनि हुँदैन भन्ने अनुसन्धानका लागि त्यहाँ पुगेका थिए। जलवीरेमा एक ठाउँ यस्तो फेला पारियो, जसले उनीहरूको ७३ लाख कमाउने स्वर्णिम योजना साकार हुने प्रायःनिश्चित देखियो।

जलवीरेमा घटना घटाउने निश्चय गरेर हेटौंडा फर्केको छैठौं दिन राति करिब ११ बजे जलवीरेमा ना५ख ७२९७ नम्बरको मालबाहक ट्रक दुर्घटना भयो। ट्रकमा रहेका १ हजार ४ सय कार्टुन बियर डुबाइयो।
ट्रक दुर्घटनामा परे पनि चालक कँडेल बाँच्न सफल भए। प्रहरी भन्छ– ‘योजनाअनुसार दुर्घटना गराइएकाले कँडेललाई केही भएन। तर, बाठा उनले बाहिर देखाउन चक्कुले खुट्टामा घाउ बनाए र अस्पताल गए। उनी नेसनल मेट्रो सिटी अस्पताल पुगे र ६ टाँका लगाए। उनले ट्रक पल्टिएको र खोजी गरिदिन इलाका प्रहरी कार्यालय मुग्लिनमा अनि बीमा रकमका लागि कम्पनीमा निवेदन दिए।’

मकवानपुर प्रहरीलाई भने घटनाबारे बेग्लै सुराक प्राप्त भयो। दुर्घटना बीमा रकम दाबी गर्न सुनियोजित तरिकाले घटाइएको सूचना प्रहरीले पायो। प्रहरी लाग्यो घटनाको पछाडि, अनि भयो घटनाको पर्दाफास।
ना५ख ७२९७ नम्बरको ट्रक भदौ २५ गते करिब ४ः३० बजे नवलपरासी भेंडाबारीस्थित गोर्खा बु्रअरीबाट १ हजार ४ सय कार्टुन टुबोर्ग बियर काठमाडौं पुर्याउन भनी हिँडेको तर, चितवनको गीतानगरमा नाम र नम्बर थाहा नभएको अर्को ट्रकमा साँझ करिब ७ बजेदेखि १० बजेसम्म १ हजार २ सय कार्टुन पल्टी गरेको अनुसन्धानबाट खुलेको छ। २ सय कार्टुन भने सोही ट्रकमा राखियो।

हाल फरार रहेका ट्रकका मालिक हेटौंडा–३ का सन्तोष खड्का आर्थिक रूपमा कमजोर भएपछि उनले हेटौंडा–११ का सन्तोष खत्रीमार्फत् यस्तो योजना तयार पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ। मालबाहक ट्रकमा ४३ लाखबराबरको बियर लोड गर्ने, बियरलाई चितवनमा आएर अर्को ट्रकमा सार्ने तर, बियर हेटौंडामा लुकाउने योजना बुनिएको थियो।

‘यति गरेपछि ट्रकको बीमा रकम पाइने र बियर पनि आफ्नो हुने योजना बनेको देखिन्छ,’ प्रहरी प्रमुख उपरीक्षक विकासराज खनालले पत्रकार सम्मेलनमा भन्नुभयो– ‘योजनाका लागि खड्कालाई १ नक्कली साहु आवश्यक परे। खड्कालाई आर्थिक अपचलनको आरोप लागेका कारण काम सफल भएपछि पैसा दिने शर्तमा हेटौंडा–११ का निर्मल सुवेदीलाई नक्कली मालिक बनाइए। सोवापत् उनले कागज गरेर ट्रक सुवेदीको नाममा गरिदिए। उक्त कामगर्न मनहरीका कँडेल तयार भए, ५ लाख लिने शर्तमा।’

घटनापछि बियरलाई उनीहरूले हेटौंडा–१३, पदम पोखरीका मणिराज लामाको घरमा लुकाए। घटना बनावटी जस्तो लागेकाले प्रहरीको गोप्य अनुसन्धान जारी रहेको अवस्थामा लामाको घरमा ५ सय ३७ कार्टुन र सोही स्थानका वुद्ध तामाङको घरबाट ४ सय २३ कार्टुन बियर गरी करिब ३७ लाख मूल्यबराबरको ९ सय ६० कार्टुन बियर बरामद भएको प्रउ खनालले बताउनुभयो।

प्रहरीले घटनामा संलग्न ५ मध्ये ४ जनालाई पक्राउ गरेको छ। मुख्य योजनाकार खड्का फरार छन्। प्रहरी प्रमुख खनालले ४ जनालाई घटना घटाइएको स्थल रहेको जिल्ला चितवनका प्रहरीसमक्ष पठाइएको बताए।
मकवानपुर मनहरी गापा वडा नं. ५ बस्ने वर्ष ३० का उज्ज्वल कँडेल (ट्रक दुर्घटना गराउने चालक), हेटौंडा–११ बस्ने वर्ष २८ का सन्तोष खत्री (सबै नक्कली योजना बनाउने), हेटौंडा–१९ बस्ने वर्ष २२ का निर्मल सुवेदी (नक्कली ट्रक मालिक) र हेटौंडा–१३ बस्ने वर्ष २४ का मणि लामा (बियर विभिन्न व्यक्तिको घरमा स्टोरेज गर्न लगाउने) लाई बियर ९ सय ६० कार्टुनसहित पक्राउ गरिएको छ।