सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान, ८.३० बजेसम्म १५ प्रतिशत मतदान



काठमाडौँ, स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारीअनुसार उहाँले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान ७ः०० बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

सो प्रदेशका केही मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधि आउन ढिला भएको र केहीमा गएराति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भए पनि हाल सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगका अनुसार, अहिले बिहान ८ः३० बजेसम्ममा करिब १५ प्रतिशत मतदान भइसकेको छ । मतदान कार्य आज अपराह्न ५ः०० बजेसम्म जारी रहनेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्