सुरक्षा शिक्षक खटाउने प्रहरीको तयारी

0
Shares

 

धनवीर दाहाल, रुकुम

नेपाल प्रहरीले गाउँ–गाउँमा सुरक्षा शिक्षक खटाउने तयारी गरेको प्रदेश नं–६ का प्रहरी प्रमुख रणबहादुर चन्दले जानकारी दिनुभएको छ। प्रहरीले अपराधरहित समाज निमार्ण गर्नका लागि सुरक्षा शिक्षक खटाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो।

समाजमा हुने विभिन्न नराम्रा कार्यहरूको रोकथाम शिक्षाका लागि गाउँ–गाउँमा सुरक्षा शिक्षक आवश्यक रहेको उहाँको भनाइ छ। सदरमुकाम, गाउँपालिका र प्रहरी चौकी मात्र सीमित रहेर मात्र प्रहरी समाजलाई बुझ्न र समाजमा हुने सानादेखि ठूला घटनाक्रम रोक्न सम्भव नहुने भन्दै केही समयभित्रै सुरक्षा शिक्षक खटाउने कार्ययोजना भएको बताउनुभयो। यस क्षेत्रको सुरक्षा अवस्थालाई अध्ययन गर्न रुकुम पुग्नुभएका चन्दले आइतबार जिल्ला प्रहरी कार्यालय रुकुममा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै यस्तो कुरा बताउनुभएको हो।
यस्तै उहाँले नागरिकहरुले साथ दिए मात्र प्रहरी सफल हुने बताउनुभएको छ। रुकुममा आत्महत्या, कर्तव्यज्यान, लागूऔषध र बहुविवाहजस्ता घटनाहरुमा वृद्धि भएकाले अब त्यस्ता घटनाहरूलाई तत्काल कम गर्नतर्फ लाग्न नागरिकहरू नै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो।

विभिन्न घटनाहरू हँुदा ढिलो गरी प्रहरीलाई खबर गर्ने प्रचलनले अपराधीहरू उम्कन पाउने भएकाले समयमै खबर गर्नुपर्ने बताउनुभयो। रुकुम जिल्ला पहिले द्वन्द्वग्रस्त जिल्लाका रूपमा चिनिए पनि अब शान्ति र विकासको जिल्ला बनाउनुपर्ने भन्दै एआईजी चन्दले अब रुकुम जिल्लाबाट नयाँ कामको थालनी गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले थप्नुभयो– ‘रुकुमलाई प्लास्टिकमुक्त बनाउने कि? अपराधमुक्त बनाउने कि? विकासयुक्त बनाउने कि? हिंसामुक्त बनाउने कि? के बनाउने हो? भन्नुहोस् र शुरूआत गरौं, हामी प्रहरीले साथ दिन तयार छौं।’ साथै सबै नेपाली तथा रुकुमेलीहरूले आफू र आफ्नो समाज सुधारका निम्ति दिनमा एक⁄दुई घण्टा खटेरै काम गर्नुपर्नेमा पनि जोड दिनुभयो। पछिल्लो पटक प्रहरी नागरिकको साथी बनेको उदाहरण दिँदै अबको प्रहरीको काम स्थानीय सरकारलाई सफल बनाउने, सडक जाम हटाउने, अपराध कम गराउने तथा सुरक्षा शिक्षामा जोड दिने बताउनुभयो।