रोट्रइक्ट क्लबको प्रेसिडेन्ट सेक्रेटरी भेला सम्पन्न

0
Shares

 

रोविन पौडेल, पर्वत

रोट्रइक्ट क्लब डिस्ट्रिक्ट–३२९२ को प्रेसिडेन्ड सेक्रेटरी मिट सम्पन्न भएको छ। रोट्रइक्ट क्लब अफ पर्वत र बाग्लुङको संयुक्त आयोजनामा भएको कार्यक्रममा डिस्ट्रिक्ट–३२९२ मा पर्ने नेपाल र भुटानका १ सय २० क्लबका ५ सयभन्दा बढी सक्रिय रोट्रइक्टरको सहभागिता रहेको थियो।

कुस्मामा रोटरी ३२९२ का डिस्ट्रिक्ट गभर्नर नोमिनि हिरालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कुस्मा नगर प्रमुख, जिल्ला समन्वय समितिका संयोजक, व्यावसायी, सुरक्षा निकायका जिल्ला प्रमुखहरूको सहभागिता रहेको थियो।

डिस्ट्रिक्टका सबै क्लब तथा सेक्रेटरी सम्मिलित भेलाले क्लबका आगामी रोटा वर्षका रणनीति तथा एजेन्डा निर्धारण गरेको छ। त्यस्तै गत वर्षको वित्तीय प्रतिवेदन अनुमोदन गर्नुका साथै आगामी रोटा वर्षका लागि पदाधिकारीका लागि आवेदन खुला पनि गरिएको छ। भेलामा क्लबले गत वर्ष गरेको भुलचुकमा पनि छलफल गर्नुका साथै त्यसको मूल्यांकन पनि गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले रोट्रयाक्ट क्लब रोटरीको स्नायु रहेको बताउँदै असल समाज निर्माणका लागि सबैजना डटेर लाग्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले सँगै काम गर्यौं, अबका दिन पनि साथै रहनुपर्छ। सबैजनाले फेलोसिप र सेवालाई सँगै लग्नुपर्छ।’

त्यस्तै रोट्रइक्टका डिस्ट्रिक्ट–३२९२ का रोटइक्टका वर्तमान प्रतिनिधि (डीआरआर) हरिचन्द्र सत्यालले रोट्रइक्टलाई कसरी बलियो बनाउने विषयमा छलफल भएको बताउनुभयो। सबै क्रियाशील रोट्रइक्ट सदस्यको इच्छाशक्ति, चिन्तन तथा समर्पणका कारण क्लब सफल बनेको बताउँदै उनले आगामी वर्ष क्लबलाई अर्को उचाइमा पुर्याउन आफू सदैव तत्पर रहने पनि बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भेलामा आगामी रोटा वर्षका कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल तथा निर्णय गरेको जानकारी दिनुभयो।

कार्यक्रमकी सहभागी तथा रोट्रइक्ट क्लब अफ काठमाडौं मेट्रोकी अध्यक्ष शैलजा खरेलले भेलाका माध्यमबाट क्लबलाई राम्रोसँग बुझ्न पाएको बताउनुभयो। उहाँले भेलाका माध्यमबाट नजिक रहेका अन्य क्लबसँग अझ गाढा सम्बन्ध स्थापना गर्न पाएको बताउनुभयो।