एनआरएन अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गर्नुभएको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्षसमेत रहेका भट्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०१७⁄१९ कार्यकालका लागि आफूले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बताउनुभयो। भट्टले अबको कार्यकालमा अध्यक्षका लागि योग्य भएको दाबी गर्नुभएको छ। उम्मेदवारी घोषणा गर्दै भट्टले भन्नुभयो– ‘संस्थाको विभिन्न पदमा रहेर मैले विभिन्न कार्यकालमा जिम्मेवारी वहन गरेको छु र विभिन्न चरणका खुट्किला उक्लिँदै अगाडि बढेको अनुभव मसँग छ। यस आधारमा पनि अझ बढी जिम्मेवारी सम्हाल्न मलाई सबैको सहयोग रहने विश्वास गरेको राखेको छु।’

गैर आवासीय नेपाली संघ जापानको स्थापनाकालदेखि सक्रिय रहँदै आउनुभएका भट्ट राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ।

उम्मेदवारी घोषणापछि भट्टले आफ्नो कार्यकालका लागि नयाँ एजेण्डाहरू पनि सार्वजनिक गर्नुभएको छ। वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बिमा गरिने कुरा भट्टको एजेण्डामा समावेश गरिएको छ।

त्यसै गरी महिला फोरमलाई शसक्त बनाउने, स्टार्ट अप् फन्डको व्यवस्था गरिने, स्मार्ट एनआरएन बनाउने र सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता वृद्धि गर्नेजस्ता कार्य आफ्नो कार्यकालमा गरिने भट्टले दावी गर्नुभयो।

गैर आवासीय नेपाली संघले अहिलेसम्म लिएका निर्णयहरू र पूरा हुन बाँकी रहेका कामलाई निरन्तरता दिन आफूले पहल गर्ने बताउनुभयो। पुरा हुन बाँकी कार्यहरू जस्तै लाप्राक नमुना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, अतिथि देवो भवः, वैदेशिक रोजगार कोषको विस्तारलगायतका कामलाई निरन्तरता दिने उहाँले बताउनुभयो।

त्यसै गरी एसकेआई कमिटीमार्फत् नेपालको बौद्धिक पलायन रोकी बाहिरिएकालाई नेपाल फर्काउन पहल गरिने बताउनुभयो।

त्यसै गरी उहाँले गैर आवासीय अभियानमा विभिन्न ७७ वटा मुलकका ५० लाखभन्दा बढी सदस्य संगठित भइसकेको जानकारी दिनुभयो।