३ दिनअघि नै बाढीको भविष्यवाणी !



 

टीका बन्धन, काठमाडौं

मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले अब बाढीबारेको सूचना ३ दिन (७२ घन्टा) अघि नै थाहा पाउने भएका छन्।

जल तथा मौसम विज्ञान विभागले प्रत्येक घन्टाको बाढीको सूचना अद्यावधिक गर्दै आगामी मनसुनको सुरुआतसँगै सरोकारवाला निकायलाई यस्तो सूचना सम्प्रेषण गर्ने तयारी अघि बढाएको हो। सुरक्षा र बाढीको उद्धारमा खटिने अन्य निकायका लागि यस्तो सूचना प्रभावकारी बन्ने विश्वास गरिएको छ।

सप्तकोसी र पश्चिम राप्तीका विभिन्न सहायक नदीमा आगामी मनसुनको सुरुआतदेखि ३ दिनअघि नै बाढीको सूचना सम्प्रेषण गर्ने तयारी भएको विभागले जनाएको छ।

विश्व बैंकको करिब ७ करोड रुपियाँको आर्थिक सहयोगमा सप्तकोसी र पश्चिम राप्तीका विभिन्न स्थानमा स्वचालित जल तथा मौसमी केन्द्र स्थापना गर्ने निधो भएको हो। यस्ता केन्द्रको स्थापनासँगै ३ दिनअघि नै बाढीको सूचना सम्प्रेषण गर्न सकिने विभाग मातहतको बाढी पूर्वानुमान शाखाका जलविज्ञ विनोद पराजुलीले बताउनुभयो।

‘यसअघि मौसम विभाग मातहत करिब १ सय ५० जलमापन केन्द्र छन् भने यस परियोजनापश्चात् जलमापन केन्द्रको संख्या ३ सयका हाराहारीमा पुग्ने भएकाले बाढीको भविष्यवाणी प्रभावकारी बन्नेछ’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।
बाढी शाखाले केही वर्षयता मुख्य नदीमा अनुगमनमा आधारित बाढीबारेको सूचना संकलन गर्दै आएकोमा यस वर्षदेखि कर्णाली, नारायणी र बबई नदीका विभिन्न स्थानमा २४ घन्टाअघिको बाढी भविष्यवाणी शुरू गरेको छ। ३ दिनअघिको बाढी भविष्यवाणीका लागि सप्तकोसीको तमोर, अरुण, दूधकोसी, तामाकोसी, सुनकोसी र भोटेकोसीका विभिन्न क्षेत्रसँगै पश्चिम राप्तीका झिमरुक, माडी र राप्ती आसपासका क्षेत्रमा स्वचालित जल तथा मौसमी केन्द्र स्थापना हुने पराजुलीले जानकारी दिनुभयो।

‘नदी र जलाधार क्षेत्रमा कुन स्तरको र कस्तो प्रकृतिको बाढी आउँदै छ भन्ने २४ घन्टासम्मको सूचना हामीले यस वर्ष शुरू गर्यौं, यही अनुभवका साथ अब हामी ३ दिनअघिको तयारीमा जुटेका हौं’ –उहाँले भन्नुभयो।

डेनमार्कको ‘डेनिस हाइड्रोलोजिकल इन्स्टिच्युट’ र सो संस्थाको भारत शाखा ‘डीएआई’ सँगको सहकार्यमा नेपालले ७२ घन्टा अघिको बाढी भविष्यवाणीको गृहकार्य अघि बढाएको हो।

पहिलो चरणमा सप्तकोसी र पश्चिम राप्तीमा शुरू गरिने यस्तो अभ्यास आगामी आर्थिक वर्षमा अन्य नदीमा पनि शुरू गर्ने मौसम विभागले जनाएको छ। विभागको बाढी शाखाले विगत ३ वर्ष अघिदेखि बाढीको सूचनाका लागि ११५५ नम्बरको निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ।

त्यसै गरी नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीयलाई लक्षित गर्दै ‘मास एसएसएस’ समेत अभ्यासमा ल्याएको छ। यस्ता अभ्यासपछि नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने समयमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भएकाले मानवीय क्षति न्यून भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन केन्द्रको दाबी छ।

प्रतिक्रिया दिनुहोस्