असोज १५ देखि खुम्बुमा पर्यटकलाई २ हजार, टिम्स कार्डको आवश्यकता छैन


बुद्धवीर बाहिङ, सोलुखुम्बु ।
खुम्बुपासाङल्हामु गाउँपालिकामा प्रवेश गर्ने प्रत्येक विदेशी पर्यटकलाई २ हजार रुपैयाँ प्रवेश शुल्क लिईने भएको छ । गएको असार २५ गते बसेको गाउँपालिकाको गाउँसभाबाट प्रत्येक विदेशी नागरिकलाई प्रवेश शुल्क बापत २ हजार रुपैया स्थानीय कर लगाउने निर्णय गरेको हो ।

यही असोज १५ गते (अक्टोबर १ तारिख) देखि प्रवेश शुल्क लिईने खुम्बुपासाङल्हामु गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाले बताए । सगरमाथा क्षेत्रको विकास र पर्यटन क्षेत्रको सुधारको लागि ‘गाउ÷नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, २०७४’ अनुसार विदेशी पर्यटकलाई स्थानीय कर उठाउने निर्णय गरिएको अध्यक्ष शेर्पाले बताए । ‘सगरमाथा क्षेत्रमा पर्यटकहरुको चापसँगै सुरक्षित व्यवस्थापन गर्नु पर्ने भएकाले पनि हामीले स्थानीय कर बापत शुल्क लिने निर्णय गरेका हौं’ अध्यक्ष शेर्पाले भने ।

खुम्बु क्षेत्र भ्रमणमा जाने विदेशी पर्यटकलाई यस अघि लिइदै आएको टिम्स कार्डको आवश्यकता नभएको पनि अध्यक्ष शेर्पाले बताए । ‘स्थानीय तहको निर्वाचन अघि जे थियो अब त्यस्तो अवस्था छैन, जब स्थानीय तहको निर्वाचन पूरा भएर जनप्रतिनिधी र गाउँपालिका भएको छ, आफ्नो गाउँपालिकामा जनताकै चाहना अनुसार काम गर्नु मेरो कर्तव्य र जिम्मेवारी रहने छ’ शेर्पाले भने ।

सगरमाथा क्षेत्रमा अटम र स्प्रीङ सिजनमा सबैभन्दा बढि पर्यटकहरुको आवतजावत हुने गर्दछ । सगरमाथा क्षेत्रको भ्रमणमा सबैभन्दा बढि पर्यटक अटम सिजनमा आउने गरेका छन् । वर्षमा ३५ हजार विदेशी र स्वदेशी सहित यस क्षेत्रमा १ लाखको हाराहारीमा पर्यटक आउने गरेका छन् ।